Shittalpati
छठको धार्मिक महत्व

हरेक चाडपर्वहरुको आ–आफ्नै किसिमको धार्मिक, सामाजिक महत्व र विशेषता हुने गर्दछ । हिन्दुुहरुको महान पर्व दशै र तिहार सकिएरसँगै छठ पर्वको आगमन भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी उल्लासका साथ यो पर्व मनाउने गरिन्छ । वर्षा सकिने र जाडो पनि धेरै नहुने यो मौसम आफैँमा पर्वमय लाग्छ । दशैँ, तिहार र छठ अखण्ड पर्व हुन् । दशैँको सम्बन्ध तिहार र छठसँग छ ।

भगवान् रामले १४ वर्षको वनवासी अवधिमा रावणको वध गरी कात्तिक औँसीमा अयोध्या फर्केका दिन अयोध्यामा दीपावली मनाइएको विश्वास छ । दीपावलीको आठौँ दिनमा छठपूजा गरिन्छ । राम अयोध्या फर्केपछि राजकाज सञ्चालन गर्नुभन्दा पहिले रावण जो ब्राह्मण थिए, उनको हत्याको पापबाट मुक्त हुन कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गरिएको धार्मिक कथन छ । अर्कोतिर राजा प्रियव्रत, महर्षि, खीर रानी मालिनी र उनले जन्माएको मृतपुत्र, ब्रह्माकी मानसपुत्री देवसेना अर्थात् षष्ठी र उनको पूजा पनि छठसँग सम्बन्धित छन् । धार्मिक मान्यता जेजस्ता भए पनि यी पर्वले सुकार्य र सुकीर्तिका लागि पे्ररित गरेका छन् । नेपालको खासगरी तराई–मधेस क्षेत्रमा मनाइँदै आएको छठले सामाजिक सन्देश र धार्मिक मान्यता विस्तार गर्दै आएको छ । बत्ती बाल्ने वा सूर्यको उपासनाले अन्धकारबाट उज्यालोतर्फको यात्रालाई निःसृत गरेको हुन्छ । पहिले पहिले तराईबासी र गैरमधेसी समुदायमा मात्र सिमिति बनेको छठ पर्व अहिले मुस्लिम समुदायले पनि उत्साह र आस्थाका साथ मनाउन थालेका छन् । सुनसरी, मोरङ, बाँके, बारा, रौतहट, धनुषा, सप्तरी, सिराहालगायतका जिल्लामा हिन्दु महिलासँगै मुस्लिम समुदायका महिलाले पनि सामूहिक रूपमा विधिअनुसार छठ मनाउने गर्दछन् । यादव, मारबाडी, पहाडी, बाहुन र कायस्थ समुदायसँगै मुसहर, चमार, दुसाध र मण्डल समुदायका व्रतालु महिला र पुरुषले एउटै घाटबाट उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पर्व मनाउन थालेका छन् । केही व्यक्ति र समुुदायमा मात्र सिमित बनेको यो पर्व सबै क्षेत्र र समुुदायसम्म फैलदै जानुु आफैमा सकारात्मक पक्ष हो । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । यसर्थ अन्य पर्व जस्तै छठ पर्वको धार्मिक महत्वलाई दर्शाउन सकिए मात्र पर्व मनाउनुुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update