पुष्कर अथक रेग्मी
अध्यक्ष, पाल्पा साहित्य समाज
शक, सप्तर्षि , कलिगत, मञ्जुश्री, श्रीकृष्ण, बुद्ध, लक्ष्मण, महावीर निर्वाण, गुरु नानक, हिजरी, गुप्त, खाल्सा, हर्ष आदि नाम गरेका संवत्हरु सुन्नमा पढ्नमा पाइएतापनि हाल नेपालमा प्रचलनमा आएका संवत्हरु भने विक्रम संवत्, ईस्वी संवत्, नेपाल संवत् र बुद्ध संवत् हुन् । नेपालमा प्रचलित प्राचीन संवत्हरु मध्ये नेपाल संवत् पनि एक हो । नेपाल संवत् विक्रम संवत् भन्दा ९३६ वर्ष ७ महिना पछि र ई.सं भन्दा ८७९ वर्ष १० महिना १५ दिन पछि शुरुवात भएको मानिन्छ । नेपाल संवत् कार्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । वर्तमान समयमा वि. सं. वैशाख सङ्क्रान्तिबाट शुरु हुन्छ । प्राचीन समयमा भने विक्रम संवत् पनि कार्तिक महिनाबाट नै शुरु भएको थियो र दक्षिण भारतमा अहिले पनि वि.सं. कार्तिक महिनाबाट नै शुरु गरिने प्रचलन छ ।
नेपाल संवत् १ को शुरुवात वि. सं ९३६ देखि भएको पाइन्छ । किलहर्न नामक इतिहासकारका अनुसार, त्यो दिन ईस्वी संवत् ८७९ को अक्टुवर २० तारिख विहिवारको दिन परेको थियो । नेपाल संवत् प्रारम्भिक काल वि.सं ९३६ देखि १८२५ सम्म सरकारी संवत््कै रुपमा प्रचलनमा थियो । नेपाल संवत् ८८८ मा गोरखाले काठमांडौ उपत्यका विजय गरी नेपाल अधिराज्यको एकीकरण भएसंगै नेपाल सम्वत्को प्रयोग सरकारी कामकाजीको रुममा कमै हुन लाग्यो ।
नेपाल संवत्लाई मान्यता दिलाउन नेपाल भाषा मंका खलले करिव ४० वर्षदेखि गरेको आन्दोलन स्वरुप सरकारबाट वि.सं २०५६ साल मंसिर २ गते सम्वतका प्रर्वतक शङ्खधर साख्वालाई राज्यले राष्ट्रिय विभूति घोषणा ग¥यो । वि. सं २०६० कार्तिक ९ गतेका दिन शङ्खधर साख्वा अंकित हुलाक टिकट प्रकाशन गर्यो । वि.सं २०६५ कार्तिक ७ गते नेपाल संवत््लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिइएको घोषणा भयो ।
कार्तिक शुक्ल प्रतिपदा तिथिको दिन म्हपूजादेखि शुरु हुने नेपाल संवत्को १२ महिनाहरु यस प्रकार रहेका छन् :–
१. कछला २. थिंला ३. पोहेंला
४. सिल्ला ५. चिल्ला ६ चउला
७. वछला ८. तछला ९. दिल्ला १०. गुँला ११. येंला १२. कउला
प्रत्येक महिनाको पहिलो पक्षलाई ‘थ्व’ र पछिल्लो पक्षलाई ‘गा’ जोडेर नामाकरण गरिएको हुन्छ । ‘थ्व’ भनेको शुक्लपक्ष र ‘गा’ भनेको कृष्णपक्ष हो । जस्तै ः कछलाथ्व र कछलागा । कछला महिनासँगै नयाँ साल मह पूजाको दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि शुरु हुन्छ । यस वर्ष वि. सं २०७९ कार्तिक ९ गते इस्वी सम्वत २०२२ अक्टुवर २६ बुधवारका दिनदेखि नेपाल संवत् ११४३ नयाँ वर्षको शुभारंभ हुन्छ ।
नेपाल संवत्को शुरुवात बारे राजभोगमाला वंशावली, केशर पुस्तकालय वंशावली आदिमा उल्लेख भए अनुसार, लिच्छवि राजा राघवदेवको राज्यकालमा भक्तपुरका शासक आनन्ददेव प्रथमले काठमाडौंको लँुखु तीर्थ (लु ! सुन, खु ¤ खोल्सो) बाट ज्योतिषिले तोकिदिएको साइतभित्र ठीक पारेर बालुवा झिकेर ल्याउन भनी भरिया पठाएका थिए । भक्तपुरे भरियाले स्वर्णावती (लँुख/लुखु) खोलाबाट झिकिएको बालुवाको भारी विष्णुमतिको पूर्वी किनार स्थित पाटीमा बिसाएर बसिरहेका बेला सोही ठाउँमा व्यापारी शङ्खधरले उक्त बालुवा किने । घर गई हेर्दा बालुवा त सुनमा परिणत भएको रहेछ । दयालु व्यापारी शंङ्खधरले सबै जनताहरुको ऋण तिरिदिएको, ऋणमुक्त भएपछि जनताहरु खुशी भएको, राजा राघवदेव प्रशन्न भएको र शङ्ंखधरको माग अनुसार नै नेपाल संवत्को शुभारम्भ भएको हो भनि इतिहासकारहरुले उल्लेख गरेका छन् ।
नेपाल संवत् नयाँ वर्षकै उत्सवमा नेवारहरु भिन्तुना (शुभकामना, शुभेच्छा) आदान प्रदान गर्दछन् । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट पुरानो वर्षलाई विदावादी गरी नयाँ वर्षलाई स्वागत गर्दछन् र यही दिन नेवारहरुले म्हपूजा गर्दछन् । ‘मह पूजाका लागि कुनै किसिमको शास्त्रीय विधि विधान र कर्मकालको निश्चित निर्णय बनेको पाइँदैनन् । कालक्रमिक रुपमा पछि बनेका केही ग्रन्थमा देखापर्ने एक दुई श्लोकहरुमा मह पूजालाई आत्मपूजा, स्वपूजासम्म भनिएको पाइन्छ ।’ भनी संस्कृतिविद् सत्यमोहन जोशीले उल्लेख गरेका छन् । नेवारहरुको म्हपूजा , नेपाल सम्वत् र राजा मानदेवले चलाएको प्राचीन सम्वत् बीचमा घनिष्टतम सम्बन्ध देखा पर्दछ किनभने यी त्रिसंयोगको शुभारम्भ कार्तिक शुक्ल प्रतिपदा तिथिबाट भएको पाइन्छ ।
नेवार भाषा (नेपाल भाषा) मा ‘म्ह’ को सामान्य अर्थ ‘देह’ वा ‘शरीर’ हुन्छ । यो म्ह शब्दबाट प्रसाद गुणयुक्त अर्थबोध गर्ने अनेक शब्दहरु बन्दछन् । जस्तै: महने ! सपना देख्नु, महसीके ! चिनजान गर्नु , महल्हुुये ! नुहाउनु, महमत ! देवस्थलमा आफ्ना शरिरमा विभिन्न ठाउँमा माटाको पालामा तेलबत्ती बाल्ने, म्हज्याये ! मूर्ति बनाउनु । विशेषतः जीव, जिवात्मा, आत्मतत्वको पूजा गर्दै नेवारी समुदायले म्हपूजाको माध्यमद्वारा आफ्नो जीवनलाई धन्य र सुसंस्कृत बनाउँदै आएका छन् ।
विज्ञानका आधारमा हेर्दा पृथ्वीले सूर्यको परिक्रमा गर्न लाग्ने समयावधिलाई एक वर्ष अर्थात ३६५ दिन, त्यसलाई १२ महिना अनि दिन, रात, घण्टा, मिनेट र सेकेण्डमा बाँडेर हिसाव गरिएको छ । नेपाल संवत् पनि यही मान्यता भित्र आधारित रहेको छ । नेपाल संवत् नेवारहरुको मात्र कदापि होइन । तत्कालीन समयको नेपाल मण्डलमा आचार्य आदि ब्राÞमण, लिच्छवि, मैथली, आर्य, किराँत, तामाङ्, बौेद्धमार्गी र शैवमार्गी सबैको बसोबास थियो तर वाग्मती सभ्यताका आदिवासी ज्यापूको भाषा नेवाः अर्थात् नेपाल भाषा मात्र सबैको सम्पर्कको राष्ट्रभाषा थियो । यो ऐतिहासिक तथ्यलाई जनमानसमा बुझाउनु जरुरी छ ।
नेपालका केही अल्पसंख्य्क धार्मिक वा जातीय समूहहरु बाहेक बहुसंख्यक जनताको धार्मिक सांस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युुपर्यन्त समेतको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न अंगको रुपमा गाँसिएको छ । जन्म, घडी, पला, पहिलो कर्मकाण्डी उत्सव पास्नीको शुभसाइत जुराउने देखि नै नेपाल संवत्को प्रयोग शुभारम्भ हुन्छ । जन्मोत्सव, विवाह, ब्रतवन्ध , मृत्युसंस्कार, श्राद्ध, तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल तिथि अनुसारका साइतमा गरिन्छन् । अतः हाम्रो धर्म, संस्कृति, परम्परा र रीतिरिवाज जीवित रहेसम्म नेपाल सम्वत्को अस्तित्व पनि स्वतः जीवित रहने छ ।
भित्ते क्यालेण्डर शुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राहमणहरुको समिति – पञ्चा·ण समितिले तिथि, मिति, चाड, पर्व तोक्थ्यो । यी सबै नेपाल सम्वत्मै आधरित थिए । आजपनि विज्ञ सम्मिलित पञ्चा·ण निर्माण समितिले नेपाल संवत्कै आधारमा वर्षभरिको चाड, पर्व, संस्कृति, साइत, उत्सव आदि निर्धारण गर्ने काम गर्छ । केवल महिना र गतेका लागि विक्रम संवत्को सहारा लिन बाहेक नेपालका सम्पूर्ण चाडपर्व, उत्सव, संस्कृति, साइतका लागि नेपाल सम्वत्को प्रयोग विद्यमान छ । सरकारी कामकाजमा वि.सं. को प्रयोग भइ नै रहेको अवस्थामा विश्वव्यापी हँुदै गइरहेको सरल ई.सं.को पनि औपचारिक प्रयोग हुदै गएको छ । अब सरकारी कामकाज, स्थानीय राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तका महत्वपूर्ण प्रमाणपत्रहरु र प्रत्येक ऐतिहासिक दस्तावेज र घटनाक्रमहरुमा नेपाल संवत्को औपचारिक रुपमै प्रयोग हुनुपर्दछ किनकी चन्दमानक पात्रोमा आधारित नेपाल संवत् विश्वको एकमात्र संवत् हो । जुन राष्ट्रको नाममा प्रचलनमा ल्याइएको छ । बहुभाषिक एवं बहुजातीय सभ्यता, संस्कृति र मान्यताको समष्टि रुप नै नेपालको परिचय हो । नेपाली परम्परामा कुनै विश्वास र अनुष्ठानले अर्को आस्था र अनुष्ठानलाई हेलत्व गरेको छैन ।
यसै परिपे्रक्ष्यमा नेपाल सम्वत् समग्र राष्ट्रिय आवश्यक र अनुसन्धानको पक्ष हो । नेपाल संवत् समस्त नेपाल र स्वाभिमानी नेपालीको आदरणीय संवत् हो । विश्वसामु नेपाल र नेपालीलाई परिचित गराउने राष्ट्रिय संवत् हो । नेपाल संवत् नेपालकै भूमिमा उत्पति भएको मौलिक संवत् हो । जनइच्छा अनुसारको संवत् हो । अन्ततः नेपाल संवत् प्रामाणिक जिवित सत्य सम्वत् हो ।
राष्ट्रिय विभूति शंखधर साख्वा नेपालको राष्ट्रिय संवत् नेपाल संवत्को पवर्तक मात्र नभई नेपालको शुरुवाती देशभक्त एवं राष्ट्रवादी जननेता हुन् । नेपाल संवत्को पर्याप्त अभिलेख, शिलालेख, दस्तावेज आदि नेपालको इतिहास, परम्परा, संस्कृति र सम्पदाहरुका आधारभूत सामग्रीको रुपमा विद्यमान छन् । ऐतिहासिक र सांस्कृतिक गौरवशाली महत्व बोकेको नेपाल सम्वतलाई सरकारले राष्ट्रिय संवत्कै रुपमा मान्यता दिइसकेको अवस्थामा यसको व्यापिकरण गर्दै, औपचारिक रुपमै चलन चल्तीमा ल्याइदै, व्यावहारिक रुपमा कार्यान्वयन गर्नु गराउनु आवश्यक रहेको छ ।
सन्दर्भ सामग्री (राजेन्द्र गोपाल सिंह, अध्यक्ष: सम्पदा प्रतिष्ठान, पाल्पाबाट प्राप्त ) जोशी ,सत्यमोहन (२०५३), महपूजा र नेपाल सम्वत्को नयाँ वर्ष, गोरखापत्र २४ कार्तिक २०५३ नेवाः स्मारिक (ने.स. ११३३) रुपन्देही: नेवा खल सिद्धार्थनगर श्रेष्ठ, दीपेन्द्र (२०७३) नेपाल संवत् नेपालीको सम्वत्, कान्तिपुर १३ कार्तिक २०७३ शंखधर साख्वा को हुन ? www.utube.com (नेपाल सम्वत् ११४३ (नयाँ वर्ष) को पूर्व सन्ध्यामा नेवाः गुठी तानसेन, पाल्पाद्वारा आयोजित कार्यक्रममा १२ कउलागा ११४२ (५ कार्तिक २०७९) मा प्रस्तुत अवधारणा पत्र) मा आधारित ।