नेपालीहरुको घरआँगनमा दोस्रो महान चाड तिहार भित्रिएको छ । बजारमा किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । निकै खर्चिलो चाडका रुपमा समेत लिइने तिहारमा बजार अनुगमन हुन सकिरहेको छैन । देसैं आसन्न निर्वाचनको विषयमा केन्द्रित छ, यद्यपि चाडपर्वलाई लक्षित गरेर ठूलो मात्रामा चीजवस्तुहरु बजारमा खरिद–बिक्री भैरहेका छन् । जुन चीजको बढी माग हुन्छ त्यसको खपत पनि अत्यधिक हुने हुँदा व्यापारीहरुले पनि त्यसैमा बढी केन्द्रित गरेर कारोबारलाई बढाइरहेका छन् । देशभर नै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारजस्तो चाडपर्वको हकमा अनुगमनलाई तीव्रता दिएको जनाइरहँदा त्यसको प्रत्याभूति भने आमउपभोक्ताहरुले गर्न पाएका छैनन् । तानसेनको बजारमा अनुुगमन भएको छैन । छिट्टफुुट्ट भएको देखिए पनि त्यो प्रभावकारी छैन । अनुुगमन केवल भत्ता पचाउने काम मात्र भएको छ ।
बजारमा अत्यावश्यक सामानमा मनलाग्दी मूल्यवृद्धि गरिएको छ । बजार अनियन्त्रित छ । दैनिक उपभोग्य सामान सर्वसाधारणका लागि किनिनसक्नु छ । सरकार तथा सरकारी निकाय मौन छन् । चामल, दाल, पिठो, तेल, हरियो तरकारी तथा लत्ताकपडामा दिन गुणा रात चौगुणा मूल्य वृद्धि गरिँदै लगिएको छ । दसैंमा जति मूल्यवृद्धि भयो, त्यो आफैंमा अचाक्ली थियो । यो नै अन्तिम र सबैभन्दा बढी मूल्यवृद्धि होला भन्ने सर्वसाधारणलाई लागे पनि तिहार तथा छठ आउँदै गर्दा दसैंको मूल्यवृद्धि तुलनात्मक रूपमा तल रहेको देखिन्छ । यसको अर्थ हो, मूल्यवृद्धि कल्पना गरिएभन्दा पनि निकै बढी र भयावह बन्दै गएको छ । खासगरी, यो बेला भाइमसला पसल, मिठाई पसलसँगै बिजुली पसललाई लक्षित गरी अनुगमन बढाउनुपर्ने खाँचो छ । कयौँ पसलहरुमा अझै पनि सामानहरुको मूल्यसूची राखिएको पाइँदैन, त्यस्ता पसलहरुलाई मूल्यसूची राख्न लगाउने वा शङ्कास्पद लागेको अवस्थामा कारवाहीको दायरामा समेत ल्याउन सकिन्छ । तर त्यसो गरिएको छैन् । यसर्थ चाडपर्वका बेला हुन सक्ने अचाक्ली मूूल्य वृद्धि, आखाद्य वस्तुुको विक्री वितरण रोक्न सम्बन्धित निकायले प्रभावकारी बजार अनुुगमन गर्न जरुरी छ ।