Shittalpati
निष्पक्षका लागि आचरसंहिता

यतिबेला मुलुुक निर्वाचनमा होमिएको छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो । निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया नै हो तर जित्नका लागि साम, दाम, दण्ड, भेद सबै प्रकारका हतकण्डा अपनाइन्छ । तर यस्ता कार्य रोक्नकै लागि निर्वाचन आचारसंहिता जारी गरिएको हुन्छ । आचरसंहिता राजनीतिक दल, उम्मेदवारदेखि सर्वसाधारण सबैलाई लागुु हुन्छ । तर धेरैलाई आचरसंहिताका विषयमा जानकारी नै नभएका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त हुन सकिरहेको छैन । यस पटक पनि मंसिर ४ गते हुुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आचरसंहिता लागु गरेको छ । निर्वाचनलाई निष्पक्ष रूपमा सफल बनाउन सुसूचित नागरिकको सहभागिता पनि त्यत्तिकै आवश्यक छ । ठाउँ ठाउँमा आचरसंहिताका विषयमा जानकारी र छलफल भइरहेका छन् । यसले निर्वाचनलाई केही हदसम्म भएपनि निष्पक्ष बनाउनमा ठूलो भूमिका खेल्दछ ।

यतिबेला राजनीतिक दर र उम्मेदवारहरुबाट नै आचरसंहिता उल्लङ्घन हुन सक्छ । त्यस्तो अवस्थामा नागरिक सचेत हुन आवश्यक छ । निर्वाचन जित्नका लागि सत्ताधारी र उच्च पदस्थहरूले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गर्न सक्छन् । राज्यकोषको दुरुपयोग पनि अत्याधिक रूपमा हुन सक्छ । विभिन्न शीर्षकमा मिलाएर बजेटको समेत दुरुपयोग हुन सक्छ । यस्तो हुनु देश र जनताका लागि गम्भीर अपराध हो । कुनै विशेष समूहका लागि राष्ट्रिय ढुकुटीको दोहन गर्ने कार्य आमजनताका लागि सह्य हँुदैन । त्यसैले, चुनावका लागि विभिन्न बहानामा राष्ट्रिय ढुकुटीको दोहन हुन नदिन आमनागरिक समाज नै सचेत र संवेदनशील बन्न जरुरी छ । पैसा बाँढ्ने खालका समूह जनताका टोल टोल र गाउँ गाउँमा आएको खण्डमा उनीहरूलाई जनताले नै पक्राउ गरेर प्रहरीसमक्ष बुझाउन सक्नुपर्छ । निर्वाचन आयोगले पनि पैसा वितरण गर्ने उम्मेदवारलाई ठाउँका ठाउँ स्पष्टीकरण सोध्ने मात्रै होइन, उसले गरेको अपराधको प्रकृति हेरेर उम्मेदवारी नै रद्द गर्न सक्नुपर्छ । यदि, पैसा बाँढ्नेजस्तो अपराधपूर्ण कार्य गर्ने उम्मेदवारलाई आयोगले सामान्य स्पष्टीकरण मात्रै सोधेर छाड्यो भने त्यसले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्नेछ । निर्वाचन आचरसंहिता सबैका लागि लागुु गरिएको छ । यो सबैले आ–आफ्नो ठाउँबाट पालना र कार्यान्वयन गर्ने हो भने निर्वाचन निष्पक्ष, स्वच्छ, पारदर्शी हुन्छ । यसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update