हरेक वर्ष यो दिवस मनाईदै आइए पनि नेपालमा गरिबी निवारण हुन सकिरहेको छैन । अझै पनि धेरै नागरिकहरु गरिबीको रेखामुुनी रहेका छन् । नेपालमा वर्षेनि दुई प्रतिशतका दरले गरिबी घटिरहेको तथ्याङ्क सार्वजनिक हुने गरे पनि निरपेक्ष गरिबीको रेखामुनि रहेका समूहको जीवनस्तरमा भने खासै परिवर्तन हुन सकेको छैन । यो अत्यन्त दुखको कुरा हो ।
गरिबी अभावको अवस्था हो । यसका स्वरूप र आयाम धेरै भए पनि जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी हो । गरिबीको अवस्थाले अरू धेरै अवसर र स्वतन्त्रतालाई ङ्याँक्ने गर्दछ । गरिबले स्तरीय शिक्षा लिन सक्दैन, कम शिक्षित भएको कारण गरिब चेतनाको आयाममा कमजोर हुन्छ । कमजोर चेतनाले क्षमता र सामथ्र्य साँघुर्याउँछ र त्यसले स्वतन्त्रतालाई पनि साँघु¥याउँछ । अझै पनि देशका धेरै नागरिक गरिबीका कारण आधारभूत आवश्यकताबाटै वञ्चित भइरहनुु परेको अवस्था छ । संविधानले आधारभूत आवश्यकताबाट कोही पनि वञ्चित हुन नपर्ने व्यवस्था गरे पनि अझै पनि गाँस, बास र कपासकै समस्याले गाँजिरहनुु नेपालीका लागि विडम्वनाको कुरा हो । नेपालको संविधानमा हरेक नागरिकलाई रोजगारीको प्रत्याभूति गर्न रोजगारीको हकको व्यवस्था गरिएको छ । तर त्यो वास्तविक गरिबले अनुुभूत गर्न पाएका छैनन् । जनप्रतिनिधिमार्फत गरिबी निवारण कार्यक्रम लक्षित वर्गसम्म पुर्याउनुपर्ने, यसको मूल्याङ्कन र अनुगमन गर्नुपर्नेजस्ता काम हुन सकिरहेका छैनन् । गरिबका लागि केही नीति र कार्यक्रम बने पनि ति प्रभावकारी बन्न सकिरहेका छैनन् । आज मनाइने दिवसले वास्तविक गरिब वर्गलाई छुन सकोस् । यसो हुन सके मात्र दिवसले सार्थकता प्राप्त गर्न सक्छ ।