Shittalpati
खाद्य दिवस र यसको साथर्कता

विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । आज पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइंदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाइन्छ । उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाइने गरिएको हो ।

संघको सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले संगठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि विविध कार्यक्रमहरूका साथ विश्वभरि यो दिवस मनाइँदै आइएको छ । नेपालले भने सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि संगठनको सदस्यता पाएको हो । नेपालले २०३८ साल (सन् १९८१) देखि यो दिवस मनाउँदै आएको छ । नेपालले मनाएको पहिलो खाद्य दिवसको नारा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ थियो । तर नारा र घोषणामा प्रतिवद्धता जनाए अनुरुप नेपालले कृषि तथा खाद्यान्न उत्पादन, सञ्चिती र वितरणमा भने खासै प्रगति गर्न सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । कृषि प्रधान देश भनिएको नेपाल अहिले पनि कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर हुन सकिरहेको छैन ।

वार्षिक झण्डै ५० अर्ब हाराहारीको कृषि उपज विभिन्न देशहरुबाट नेपालले आयात गरिरहेको छ । ६० प्रतिशत कृषि व्यवसाय र ५८ प्रतिशत कृषियोग्य भूमि रहेको नेपाल आफ्नै उत्पादनबाट आत्मनिर्भर बन्न नसक्नु जत्तिको विडम्वना अरु केही हुन सक्दैन । कृषि शिक्षामा विद्यार्थीहरूलाई प्रोत्साहन, आकर्षण गर्न नसक्नु, सरकारी नीति निर्माणका कुराहरूमा गफ धेरै काम कम हुनुले पनि नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सकिरहेको छैन । वर्षभरि परिवारलाई खान पुग्ने अन्नलाई भकारीमा थुपार्नु सम्म मात्र कृषि कार्यलाई सीमित गर्न हुँदैन, कृषिमा क्रान्ति ल्याउन जरुरी छ । कृषिलाई सरल पेसा नबनाएर यसलाई उद्योगका रूपमा परिभाषित गर्नुअहिलेको आवश्यकता हो । हाम्रो कृषि पेसा र संलग्न कृषक एउटा सफल उद्यमी र समाजसेवी भएर पेसालाई आफू पनि बाँच्ने र समुदायसम्म गुणस्तरीय उत्पादन पु¥याउने एउटा उदाहरण नबनेसम्म कृषिमा परिवर्तन आउन सक्दैन र खाद्यान्न दिवस मनाउनुुले पनि सार्थकता प्राप्त गर्न सक्दैन ।

प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update