नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले यो दिवस मनाइन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागी गराई गरिबी न्यूनिकरणमा टेवा पु¥याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । तर दिवसको उद्देश्य अनुरुप हुन भने सकेको छैन । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन । यो अत्यन्त दुखको कुरा हो । ग्रामीण महिलाहरुलाई सशक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने कुरामा दुई मत छैन ।
ग्रामीण अर्थव्यवस्थाको विकासका लागि समेत महिलाहरूले ठूलो योगदान गरेका हुन्छन् । खासगरी अन्नबाली उत्पादन पशुचौपाया पालन घरेलु श्रमको व्यवस्थापन तथा जल र खाद्यान्न व्यवस्थापनमा महिलाको महत्वपूर्ण योगदान रहेको छ । यसका साथै घर–परिवारमा रहेका बालबालिका जेष्ठ नागरिक र बिरामीहरूको स्याहारमा सबैभन्दा ठूलो जिम्मेवारी महिलाले सम्हालेका हुन्छन् । तर तिनै महिलाहरुलाई अझै पनि सक्षम र नेतृत्व प्रदान गर्न सकिएको छैन । नेपालमा महिला सहभागिताको आवाज निकै बुलन्द बनेको छ । शहरी क्षेत्रमा मात्रै हैन, गाउँ–घरमा पुग्ने साना–साना विकास निर्माणका योजनाहरूमा समेत महिलालाई अनिवार्य सहभागी गराउनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । तर कयौं महिलाहरु अझै पनि घरकै चुुलो–चौकामा मात्र सिमित बन्नुु परेको छ । हाम्रो जस्तो देशको विकासका लागि आधाभन्दा बढी संख्या रहेका महिलाहरूको समग्र विकासका र सशक्तिकरण नभई नहुने पक्ष हो । यसर्थ ग्रामीण क्षेत्रका महिलालाई सवल, सक्षम बनाई नेतृत्वदायी भूमिका प्रदान गर्न सके मात्र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउनुको सार्थकता रहन सक्छ ।