Shittalpati
आचारसंहिता पालना गरौं

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समय दिनप्रतिदिन झन्झन् नजिकिँदै छ । अबको ३८ दिनमा देशैभरी संघीय संसद र प्रदेशसभाका सदस्यहरूका लागि आमनिर्वाचन हुने छ । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न थालेका छन् । दल र उम्मेदवारको सूचीमा परेकाहरु मुख धोएर गाउँ–गाउँ पस्न थालिसके । यो समयमा निर्वाचन आयोगले निर्वाचन आचारसंहिता समेत जारी गरेको छ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, नेपाल सरकार र नेपाल सरकारका मन्त्री, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था र स्थानीय निकाय, सबै आमसञ्चारका माध्यमका लागि आचारसंहिता लागू हुने उल्लेख गरेको छ । त्यसैगरी नेपाल सरकार, नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था र स्थानीय निकायका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, गैरसरकारी संघ/संस्था र निर्वाचन प्रयोजनको लागि आयोगले खटाएको स्वयंसेवकलाई आचारसंहिता लागू हुने स्पष्ट पारेको छ । यो अत्यन्त राम्रो हो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको लागि निर्वाचन आचारसंहिताको पालना हुनु आवश्यक छ ।

निर्वाचन प्रक्रियामा सहभागी हुने सबै पक्षको सन्तोषजनक नैतिक व्यवहार भयो भने मात्र निष्पक्ष निर्वाचन सम्भव हुने हो । निर्वाचनका सराकोरवालाहरुको नैतिक व्यवहारलाई निर्देशित गर्न निर्वाचन आचारसंहिताको महत्वपूर्ण भूमिका रहन्छ । निर्वाचन आचारसंहिताले राजनीतिक दलका कार्यकर्ताको व्यावहारिक आचरणको अभ्यासलाई देखाउँछ । आचारसंहितामा के गर्नहुने र के गर्न नहुने विषय समावेश गरिएको छ । निर्वाचन प्रक्रियामा सहभागी हुने सबैका लागि निर्वाचन आचारसंहिता बाध्यकारी नियम हुन्छ । जसको पालना नगरे जोकोही पनि कडा कारबाहीको भागीदार हुुनुपर्छ । निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउनबाट जोगाउन आयोगले आचारसंहितामा दल तथा उम्मेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, टिसर्ट, टोपी/क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन बन्देज लगाएको छ । बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने कुरा समेत आचारसंहितामा उल्लेख छ । यसर्थ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबै पक्षले यि कुराहरुको पूर्ण रुपमा पालना गरौं ।

प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update