दुर्गा प्रसाद अर्याल
देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ । दल र तीनका उम्मेदवारको उद्देश्य जसरी पनि चुनाव जित्नु, सत्ता र शक्ति आफ्नो अनुकुलको बनाउनु रहने छ । यसका लागि नेपाली घर आगनमा विभिन्न किसिमका क्रियाकलापहरु सञ्चालन हुने छन् । हुनै नसक्ने आश्वासनहरु बाडिने छन्, विकासका मूलहरु फुट्नेछन्, नदी खोलामा पुल बन्नेछन्, बाटो बन्नेछ, विद्युत नपुगेको ठाउँमा विद्युत पुग्नेछ, खान नपाउने अवस्थाको अन्त्य हुनेछ, उपचार नपाउने अवस्था हुनेछैन, गरिबी घट्नेछ, आर्थिक वृद्धि दुई अंकमा पुग्नेछ, बेरोजगारीले रोजगारी पाउनेछन् । यी केहि आश्वासन र भाषण बन्नेछन् अबको एक महिना । नेताले जनता चिन्ने छन्, सन्चो विसन्चो सुख दुःख साट्ने छन् । खेत बारीमै पुग्नेछन् । चुनाव सम्पन्न नहुँदासम्म जनता ठूला हुनेछन् । चुनाव अवधिमा मात्रै नेपाली जनता ठूला भएका, उनीहरुको आवाज उच्च हुने गरेको परिदृष्य विगतमा देखिन्थ्यो भने चुनावको परिणामसँगै अवस्था र परिवेश भने ठ्याक्कै विपरीत हुने देखिने छ । यसर्थ यिनै विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
वि.सं. २०१५ फागुन ७ गते १०९ निर्वाचन क्षेत्रका लागि पहिलो पटक नेपालमा आम निर्वाचन भएको थियो । निर्वाचनबाट अनुमोदन भएका प्रतिनिधिबाट बन्ने सरकारले देशमा विकास निर्माण तथा जनताको जीवनस्तरमा परिवर्तन गर्नेछ भन्ने ठूलो आसा र अपेक्षाका साथ पहिलो पटक उक्त निर्वाचनमा भाग लिएका थिए नेपाली जनताले । हालसम्म आई पुग्दा वि.स २०२८ मा १०९ क्षेत्रका लागि, जनमत संग्रह २०३७, राष्ट्रिय पञ्चायत निर्वाचन वि.स. २०३८, ११२ क्षेत्रका लागि, प्रतिनिधि सभा निर्वाचन २०४३, ११२ क्षेत्रका लागि, आम निर्वाचन २०४८, २०५ क्षेत्रका लागि, आम निर्वाचन २०५१, २०५ क्षेत्रका लागि, आम निर्वाचन २०५६, २०५ क्षेत्रका लागि, संविधान सभा निर्वाचन २०६४ समानुपातिक र पहिलो हुने निर्वाचन प्रणालीको माध्मबाट ६०१ जना, संविधान सभा निर्वाचन २०७० समानुपातिक र पहिलो हुने निर्वाचन प्रणालीको माध्मबाट ६०१ जना, प्रतिनिधि सभा निर्वाचन २०७४ हँुदै हाल संघीय १६५ क्षेत्र र प्रदेश सभाका ३३० क्षेत्रका लागि आम निर्वाचको घोषणा भइसकेको छ । हरेक निर्वाचनमा विकास र जीवनस्तरमा परिवर्तन हुने आसामा उल्लासमय तरीकाले मतदानमा भाग लिएका नेपालीहरु वर्तमान समयसम्म आइपुग्दा निर्वाचन र निर्वाचन प्रणाली प्रति भने निराशा व्यक्त गरेको देखिन्छ । वर्तमान समयमा घोषणा भएको चुनाव प्रति पनि त्यति आशावादी र उत्साही भने भएको देखिदैन । जनताले हरेक निर्वाचनमा इमान्दारीता र आफ्नो कर्तव्य निभाएको देखिन्छ भने निर्वाचित जनप्रतिनिधि र त्यसपछि बनेका सरकारले इमान्दारिता, राष्ट्रियता र आफ्नो कर्तव्य नसम्झिने सत्ता र सरकार परिवर्तनमानै अधिकाश समय बेतित गर्ने, राज्यको व्यय भारमा अत्याधिक वृद्धि गर्दै लाने तर जनता र देशको स्थितीमा भने खासै परिवर्तन नहुनु आम जनतामा निराशा उत्पन्न हुनुका केहि कारणहरु ।
अबका केहि समय देश विकास, समृद्धि र जनताका पक्षमा व्यापक कुराहरु उठ्नेछन् । राजनीतिक दल तथा उम्मेदवारहरुले जनतालाई आकर्षित गर्ने घोषणा पत्रहरु बनाउने छन् । कसरी आर्कषित गर्ने भन्ने विषयमा राजनीतिक दलहरु बिच तीव्र प्रतिस्पर्धा नै देखिने छ । जनतालाई महान बनाईने छ । मतदातालाई भगवानकै रुपमा परिभाषित गरिनेछ । कतै घोषणा पत्र रुपी मिठा शब्दले, कतै रुपैयाँ पैसा बाडेर, कतै मतदातालाई किनबेच गरेर, कतै विकासका आश्वासन बाडेर, कतै झुट्टा सम्झौता गरेर, भोज भतेर लगाएर मतदातालाई आकर्षित गरिने छ । यी केहि हाम्रा विगतमा चुनावका समयमा सुनिने र देखिने घटनाहरु हुन् । आम मतदातामा क्रमश: सचेतनामा वृद्धि भएका कारण यस्ता प्रलोवनका कार्यहरु अब हुनेछैन । यस्ता कार्यले खासै प्रभाव पनि अबका दिनमा पर्ने छैन आशा राखौं । जनता सचेत भएका छन्, हुनु जरुरी पनि छ । सस्तो आश्वासनका पछाडी जनता लाग्ने अवस्था अब आउनदिनु हँुदैन । सहि उम्मेदवार छनौट हुने अवसर पाउनु पर्दछ । केहि दिन र केहि समयका लागि जनता ठूला हुने हैन । सधै भर ठूला र माथि हुने वातावरण सिर्जना हुनुपर्दछ । जनताका एजेण्डाहरुले स्थान पाउनु पर्दछ । देश आम निर्वाचनको वातावरणमा प्रवेश गरेको छ । जनताको शासन स्थापित गरिसकेपछि देशका लागि आवधिक निर्वाचन अनिवार्य पनि हो यो हुनु पनि पर्दछ । भएन भने देश एकलौटी शासन व्यवस्थामा जाने गर्दछ । विधिको शासनको अन्त्य हुनेछ । देश फेरि अस्थिरता र आन्दोलनको दिशामा जाने गर्दछ । जनताका इच्छा, आकांक्षाहरु संकुचित हुने गर्दछन्, त्यसैले निर्वाचन सम्पन्न हुनु पर्दछ । निर्वाचनबाट सधंै देशलाई अस्थिरता, अविकसित अवस्थामा राख्ने, सत्ता र कुर्सी प्राप्तिको उद्देश्य बनाउने प्रवृत्ति भएका नेताले हार्नु पर्दछ । राष्ट्र हित र जनताको जीवनस्तरमा परिवर्तन गराउने उद्देश्य राखेका नेताले जित्नुपर्दछ । निर्वाचन प्रणालीलाई कम खर्चिलो र मितव्ययी भने बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने भने देखिन्छ । निवार्चन प्रणाली र प्रक्रियामा कतै सुधार गर्नुपर्ने पक्ष भएमा सुधार पनि गर्नुपर्दछ तर यस प्रक्रियाको बहिस्कार, विरोध गर्नु भनेको प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्रको सुन्दर पक्षको नै समाप्त गर्नुभएकाले यस पक्षमा कसैको सोच पनि जानु हुँदैन ।
बहुमत, दुई तिहाईको सरकार दिदा पनि पुनः राजनैतिक अस्थिरता र सरकार परिवर्तनको खेल देखेका आमजनताले अबको चुनाव पछि बन्ने सरकारबाट पनि खासै ठूलो परिवर्तन हुने आशा देखेका छैनन् तर यो निराशालाई आशामा परिणत गर्ने हात भने चुनाव पछि निर्वाचित जनप्रतिनिधिमा रहने गर्दछ । यसका लागि नेतृत्वले सधैं आफ्ना मतदाताको भावनालाई ध्यान दिएर कार्य गर्न जरुरी देखिन्छ । जस्तो जुकै निरासा भएता पनि मतदान भनेको दान हो यो दिनै पर्दछ भनेर मतदाता आतुर भएको देखिन्छ । नेपाली जनताको भावना माथि खेलबाड कहि कतैबाट हुनुहँुदैन । चुनाव अगाडि मात्रै हैन चुनाव पछि पनि जनता माथि नै भइरहनु । जनताको आवाज र भावना निर्वाचित नेतृत्वले सुनिरहुन्/बुझिरहुन् । देश सरकार परिवर्तनको खेल, राजनैतिक अस्थिरता र विकासोन्मूख अवस्थाबाट माथि उठोस् यहि कामना गरौं ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)