देश निर्वाचनमा होमिएको छ । भर्खर हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै संघीय र प्रदेशसभाको निर्वाचनको चटारोमा दलहरु छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । लोकतन्त्रको मेरुदण्ड निर्वाचन हो । निर्वाचनमा हार जित हुन्छ । त्यो हारजित भनेको केवल उम्मेदवारहरूको हारजितमात्रै हो । स्वच्छ, स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचनमा सधैं लोकतन्त्रको जित हुन्छ । त्यही कसीमा मंसिर ४ गते हुने आमनिर्वाचनलाई हेरिनुपर्छ । आसन्न प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन मुलुकले नयाँ संविधान पाएपछिको दोस्रो आमनिर्वाचन हो । यसर्थ पनि यसको खास महत्व रहेको छ । निर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलहरुले आ–आफ्नै ढंगले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् । उनीहरुले आफ्ना घोषणा पत्र बनाउनेदेखि चुनावी रणनीतिहरु बनाउने काममा व्यस्त देखिएका छन् ।
निर्वाचनको चटारो राजनीतिज्ञ, राजनीतिक पार्टीका साथै आमसर्वसाधारणमा सुरु भएको छ । यद्यपी भ्रष्टाचारको आरोप लागेका, मुद्दा मामिलाको किचलोमा परेका मात्रै होइन, बलात्कार र हत्याजस्तो जघन्य अपराधका आरोपितलाई पनि दलहरूले छानीछानी उम्मेदवार बनाएका छन् । यो अत्यन्त दुःखको कुरा हो । यस्तो हुनुुहुँदैन । यो वास्तवमा राजनीतिक मूल्य मान्यताको चीरहरण नै हो । जसले जीवनभर जनताको सेवाका लागि भनेर कुनै पार्टीमा पसिना बगायो, ऊ नेताको नजरमा नपरेकै कारण उम्मेदवार बन्न पाएको छैन, तर जोसँग पैसा छ, पहुँच छ उसले भने चाहनेबित्तिकै उम्मेदवार बन्न पाएको छ । दल र तिनका शीर्ष नेताले उम्मेदवारीलाई पैसामा बिक्री गरेर लोकतान्त्रिक निर्वाचन भनेको पैसाले जितिन्छ, जनताको मत जितेर होइन भन्ने उल्टो सन्देश दिएका छन् । पार्टीमा दशकौं संघर्ष गरेकाहरूले कहिल्यै उम्मेदवार बन्न नपाउने, कसैले भने हरेक चुनावमा टिकट पाउनेजस्तो असमान न्याय पनि स्थापितै भएको छ । यो गलत हो । आगामी निर्वाचनमा यस्तो अभ्यास हुनुहुँदैन । जनताले चाहेका र पार्टीमा लामो समय योगदान गरेका नेताहरुलाई टिकट दिइनुपर्छ । जसले गर्दा चुनाव स्वच्छ, निष्पक्ष बन्न सक्छ । जे भएपनि यसपालीको निर्वाचनबाट योग्य, सक्षम र कुशल उम्मेदवार चयन हुन सकोस् ।