Shittalpati
बढ्दो मानसिक समस्या

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्‍यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै नागरिकहरु विक्षिप्त बन्न पुगे । मानसिक स्वास्थ्य समस्याका बारेमा खासै चासो दिएको देखिदैन । तर यो भुसको आगो झैं सल्किरहेको छ । धेरैलाई मनोपरामर्श आवश्यक छ । संक्रमण रोकथाम, उपचारलगायतमा चासो दिए पनि मनोपरामर्शप्रति कसैको ध्यान पुगेको छैन । मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अक्टोबर १० मा ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

हरेक वर्ष यो दिवस मानाइँने गरिए पनि यसले सार्थकता पाउन सकिरहेको छैन । बरु मानसिक स्वास्थ्य समस्या भएका विरामीहरु बढ्दै गएका छन् । यो अत्यन्त दुखको कुरा हो । सरकार, स्वास्थ्य निकाय र स्वयं व्यक्ति समेत यसबारेमा सजग र सचेत नहुने हो भने मानसिक समस्याले जरा गाड्ने छ । मानिस जसरी शारीरिक रुपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रुपमा पनि स्वस्थ रहन आवश्यक छ । मानसिक समस्या अनेक कारणले हुन्छ । कतिपयलाई वंशाणुगत रुपमा पनि हुन्छ । तर मूलतः तनावसँग सामना गर्न नसक्ने क्षमताले गर्दा मानसिक समस्या हुन्छ । विभिन्न खालका सम्बन्धमा समस्या आउँदा, पारिवारिक र आर्थिक कारणले पनि मानसिक समस्या देखिन्छ । मानवमा सबैभन्दा बढी हुने मुटु तथा रक्तसञ्चारका रोगपछि दोस्रो बढी हुने रोग उदासीपन (डिप्रेसन) मानसिक समस्या हो । तर, नेपालमा चेतनाको अभावमा जनमानसमा, विद्वान् वर्ग, स्वास्थ्यकर्मी एवं स्वास्थ्यनीति निर्माताले अझै पनि मानसिक स्वास्थ्यलाई न्यून प्राथमिकता दिने, रोगीलाई हेलचेक्य्राइँ र भेदभावपूर्ण व्यवहार हुँदै आएको छ । यसो गरिनु गलत हो । मानसिक समस्या भएकाहरुलाई उचित परामर्श र समयमै उपचार गराउने हो भने यो समस्या समधान गर्न सकिन्छ । यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update