Shittalpati
संविधान दिवस र यसको सार्थकता

मुलुकमा जनप्रतिनिधिबाट सम्मिलित संविधान जारी भएको आज ८ वर्ष पुुगेको छ । यसबीचमा नेपाली काँग्रेस, एमालेदेखि एमाओवादी नेतृत्वका सरकारहरू बने, मधेसवादी दलदेखि विभिन्न पार्टी ती सरकारमा सहभागी भए । जसले सरकार चलाए पनि जनताले भने आधारभूत रूपमा फरक पाउन सकेनन् । अर्थात् जनताले काँग्रेस र कम्युनिष्टको शासन त पाए तर संविधानमा हुनुपर्ने जनताको शासन महशुस गर्न पाएनन् । जोसुकै सत्तामा गएपनि ती जनमुखी हुन सकेनन् । यस हिसाबले जनताले वास्तविक रूपमा जनप्रतिनिधिबाट निर्माण भएको संविधानको महशुस गर्न सकेका छैनन् । आजको दिन वास्तवमा राष्ट्रिय उत्सवको दिन पनि हो । २०७२ अशोज ३ गते मुलुकको संविधान संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेर जारी भयो थियो । संविधान जारी भएको दिन असोज ३ लाई हरेक वर्ष सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउने गर्दछ । निश्चय पनि संविधान राष्ट्रिय महत्वको दस्तावेज हो । यसैका आधारमा मुलुकको राजनीति, शासन–प्रशासन सञ्चालन भएको हुन्छ, हुनुपर्छ भन्ने मान्यता छ । तर यो उत्सव मनाउनमा सीमित कुनै पौराणिक वा धार्मिक ग्रन्थ होइन । यसका अक्षर र उद्देश्य पालना र सो अनुसार व्यवहार भएका छन्, छैनन् मुख्य कुरा हो । लोकतन्त्रमा संविधानको निकै ठूलो महत्व हुन्छ ।

जनतामा निहित अधिकार संविधान मार्फत सरकार र राज्यका निकायहरूले पाउने हो । राज्यबाट सुविधा र सुरक्षा भोग्ने राष्ट्रपति होऊन् वा प्रधानमन्त्रीदेखि खाली खुट्टा सडकमा हिँड्ने अभावग्रस्त सामान्य नागरिक नै किन नहोऊन्, संविधान सबैका लागि समान हैसियत र अधिकारको स्रोत हो । तर विडम्बना नै भन्नुपर्छ, हामीकहाँ त संसद्मा ठेकेदारहरूको हालिमुहाली छ । अहिले संविधान विपरीतका काम जताततै देख्न सकिन्छ । सत्तामा बस्नेका लागि यो मनपरी गर्न पाउने लाइसेन्स भएको छ भने जनताका लागि नियन्त्रणको हतियार । यो सबैभन्दा डरलाग्दो कुरा हो, संविधानको दुरुपयोग पनि हो । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट निर्मित संविधान यस्तो हुनु हुँदैन । संविधान सबैलाई मान्य हुनुपर्छ । संविधानमा लेखिएका अक्षरभन्दा पनि यसको भावना र मर्मअनुसार सिंगो मुलुक चल्न सक्यो भने नेपालीको अधिकार सुरक्षित हुने तथा कोही कोहीबाट शासित/शोषित हुनुपर्दैन । संविधानको असल प्रयोगबाटै यसलाई दीर्घजीवी बनाउन सकिन्छ । संविधानसभाबाट बनाइएको अहिलेको संविधानको असफलता मुलुकका निम्ति महँगो हुन सक्छ । यसर्थ अहिलेको राजनीतिक नेतृत्वले यसको प्रयोगमा बढ्ता संवेदनशीलता बन्न सके मात्र संविधान दिवसले मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update