Shittalpati
समानुपातिकको दुरुपयोग नगर

एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् । समानुपातिक प्रणालीमा समावेश गर्ने उम्मेदवारमा दलहरूले त्याग, निष्ठा, समर्पण गरेका आफ्नै दलका कार्यकर्ताभन्दा पैसावाल व्यापारी, दादागिरी गर्ने डन, ठेकेदार र परिवारकै सदस्य अनि नातागोतासम्मलाई समानुपातिकको सजिलो बाटोमार्फत सांसद हुने अवसर दिएका छन् । वास्तवमा राज्यसत्ताबाट पाखा पारिएको वर्ग, क्षेत्र, लिङ्ग र जातिको प्रतिनिधित्व संसद्मा होस् भनेर संवैधानिक व्यवस्था गरिएको हो । तर यसको व्यापक दुरुपयोग गरिएको छ । जसका लागि यो प्रणाली लागु गरियो, त्यो वर्ग, समुदाय र क्षेत्र भने अझै पनि अधिकारबाट बञ्चित छ । ती वर्ग र समुदायको नाममा अरू कसैले स्थान ओगटिरहेका छन् । कोटाबाट खल्तीका मान्छेलाई समानुपातिक कोटामा पार्नु दुखद् हो । यसले समानुपातिक प्रणालीको मर्म माथि नै ठोस पुगेको छ ।

यो प्रणालीबाट व्यापारीमात्रै नभई दलका चल्तापुर्जा र शीर्ष नेताका हनुमानहरू सांसद बनिरहेका छन् । यो अत्यन्त गलत हो । यसो गरिनु हुँदैन । अझ अहिले आएर त ठूला नेताहरूले आफ्नो परिवारका मान्छेहरूलाई समेत समानुपातिमा टिक दिने प्रवृत्ति हावी भएको छ । राजनीतिक दलहरुको चालचलन, सोच र प्रवृत्ति हेर्दा आउँदो मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यो प्रणाली आफ्ना भाइ, भतिजा, छोरा, बुहारी, नातागोता, चाकडी–चाप्लुसी गर्नसक्ने कार्यकर्ता र राजनीतिक दललाई चन्दा दिने ठूला व्यापारीको कब्जामा पर्ने पक्कापक्की छ । राज्यप्रति, स्वामित्व र अपनत्व व्यापक बनाउनका लागि यो अभ्यास आवश्यक थियो । तर व्यवहारमा यसको गलत प्रयोग भयो । यसले गर्दा प्रणालीप्रति नै वितृष्णा बढिरहेको छ । समानुपातिकको मर्म आरक्षण हो । त्यो प्रतिस्पर्धामा आउन नसक्ने वर्ग र समुदायका लागि हो । तर सधैं एकै व्यक्तिलाई त्यो अवसर दिनु पनि दुरुपयोग हो । समानुपातिक निर्वाचन प्रणाली पैसावाल व्यापारी सांसद बन्न सजिलो हुने लिस्नो बनाइनु कदापी हुँदैन । दोष प्रणालीको होइन, नेताहरूको नियतको हो । यसर्थ आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा दलहरुले समानुपातिकको मर्म अनुरुप टिकट वितरण गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update