Shittalpati
नेता अनि कार्यकर्ताको आचरण

नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।

प्रत्येक मतदाताले आफ्ना नेताहरुबाट आशा र भरोसा गर्नु स्वभाविकै भएपनि राजनैतिक विचारका आधारमा नेताहरुलाई नियम र कानुन भन्दा माथि उठेर काम गर्न लगाउने र आफ्नो अनकुलताको व्याख्या गरेर नेताले काम गरेनन् भन्ने कतिपय निराधार आरोप पनि समयसापेक्ष छैनन् भन्दा अत्युक्ति हुनेछैन । बहुलवादका नाममा अनेकन आश्वासन र प्रलोभन दिने अनि आवधिक निर्वाचनका बेला मतदाता किन्ने र आफ्नो अमूल्य मतलाई आर्थिक प्रलोभनमा बेच्ने किसिमको प्रचलन दुवै खाले परिपार्टीका कारण मुलुक अत्यन्तै अराजनैतिक चरित्रको शिकार भएको छ । त्यसकारण राजनेतामा त्यागको भावना हुनुपर्ने र कार्यकर्ता अर्थात् मतदातामा नियम र कानुनको परिधिलाई मार्गदर्शनका रुपमा स्वीकार गर्न नसक्नु आफैमा विडम्वना हो ।

राजनीतिलाई ‘कमाउ र रमाउ’को परिभाषा भित्रबाट बाहिर निकाल्न नसक्ने कतिपय नेताहरुलाई आवधिक मतदानको परिणामका आधारमा पराजित गर्ने परम्पराको थालनी मतदाताबाट नहुदासम्म त्यस्ता नेताहरु सधैं भ्रमित भइराख्ने क्रम रोकिदैन । त्यसकारण अब हामी मतदाता आफैमा इमानदार भएर मतको महत्वलाई बुझेर एक छाक मिठो खानामा र केही आर्थिक प्रलोभनमा पर्ने क्रम त्याग्नु नै सबै भन्दा महत्वपूर्ण पक्ष हो । धेरैजसो आमजनसमुदायमा नेतालाई मात्रै दोष दिने अनि निर्वाचन आएपछि चाडपर्व आए जस्तो मान्ने परम्परालाई नत्याग्दासम्म नेता इमानदार र कार्यकर्ता विकाउ हुने अवस्थाको अन्त्य हुन सक्दैन । हरेक परिस्थितिको शिकार हामी आफै हौं, त्यसको निकास र सुन्दर नेपालको परिकल्पनाको लागि नेतृत्व गर्ने नेता र कार्यकर्ता दुवै पक्ष संयमित र इमानदार हुनु जरुरी छ । अनि मात्र इमानदार नेता र प्रलोभनमा नबिक्ने कार्यकर्ताको समायोजन हुन्छ र मुलुक पनि अग्रगति तर्फ लम्कन्छ । अन्यथा यी सबै विकृत रुपहरुको अन्त्य कहिल्यै पनि हुँदैन ।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update