कृष्ण पोखरेल
पाल्पा, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । निर्वाचित भएको एक सय दिनका काम तथा उपलब्धी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । नगर प्रमुख श्रेष्ठले तानसेन नगरमा विकास गर्न, सुशासन कायम, गर्न जनताले जिताएर पठाएकाले जनताको भावना अनुसार नै काम गर्ने प्रतिवद्धता जनाए । मलाई कुनै भ्रष्टाचार गर्नु छैन, आर्थिक लेनदेनमा सहभागी हुनु छैन, म पैसा कमाउन, चुनाव खर्च उठाउन जनप्रतिनिधी भएको होइन, मसँग प्रशस्त पूर्खाैली सम्पत्ति छ, म फेरि अर्काे निर्वाचनमा उठ्ने पनि होइन त्यसैले जनता माझ राम्रो छवी बनाएर ५ वर्षमा विदा हुने गरी काम गर्ने नगर प्रमुख श्रेष्ठले बताए ।
भ्रष्टाचार पनि गर्दिन, गर्न पनि दिदैन, कहि कतैबाट दाग लागे तुरुन्त राजीनामा दिने नगर प्रमुख श्रेष्ठले घोषणा गरेका छन् । राम्रै गर्न निर्वाचित भएको हुँ, काम गर्दा गर्दै राम्रो गर्न नसके पनि अहिले भन्दा नराम्रो नगर्ने नगर प्रमुख श्रेष्ठले प्रतिवद्धता जनाए । तानसेन नगरपालिकाको खर्च कम गरी राजश्व बढी भन्दा बढी उठाउने लक्ष्य लिएको र सोही अनुसार नीति निर्माण तथा कार्यक्रम बनाई राजश्व संकलनमा सक्रिय भएको नगर प्रमुख श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा १० करोड आन्तरिक स्रोत जुटाउने अभियानामा जुटेको उनले बताए । १ सय दिनको अवधीमा १ वटा नगर सभा, ९ वटा कार्यपालिकाको बैठक सम्पन्न गरी महत्वपूर्ण योजना अगाडि बढाएको नगर प्रमुख श्रेष्ठले बताए ।
नगरपालिकाले सबै विकास समितिको संयोजकमा वडा अध्यक्षलाई जिम्मेवारी प्रदान गरी खर्च कटौती गरेको, नगरको काम चुस्त दुस्त बनाउन ४१ वटा उप समिति निर्माण गरी काम अगाडि बढाएको, ग वर्गको अपाङ्गलाई मासिक ५ सय रुपैयाँ भत्ताको व्यवस्था गरेको, २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महशुल नगरपालिकाले तिरिदिने व्यबस्था मिलाएको, लिफ्ट खानेपानी योजनाका विद्युत महशुलको २५ प्रतिशत नगरपालिकाले अनुदानको व्यवस्था मिलाएको, समुदायमा पछाडी परेका जातजाती, अल्पसंख्यक, दलित, ६० वर्ष नाघेका अविवाहित महिला, र एकल जीवन विताएका पुरुषहरुलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था एक सय दिनको अवधिमा गरेको नगर प्रमुख श्रेष्ठले बताए । एक सय दिनको अवधिमा कृषकहरुलाई दुधमा प्रति लिटर २ रुपैयाँ अनुदान, भौतिक पूर्वाधार अन्तर्गत अमनारायण मन्दिर जिर्णाेद्वार, जैसीचौपारी कारागार सडक बौघागुम्वा छेर्लु सडक पक्की, नगरपालिकाको मिनीहल निर्माण जस्ता कामको बोलपत्र आÞवान गरी काम शुरु गरेको तानसेन नगरपालिकाले जनाएको छ । पर्यटकीय स्थल रानीमहल र श्रीनगर क्षेत्रलाई व्यस्थित गर्दै सौन्र्दयीकरणको काममा नगरपालिका क्रियासिल रहेको र सो स्थानबाट साउन महिना मात्र ३ लाख २४ हजार ८ सय १५ रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिको सेवा प्रवाहलाई चुस्तदुस्त बनाउन र स–सानो कामका लागि पनि पालिकाको कार्यालमा धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्न प्रत्येक वडा–वडामा एक जना प्रशासनिक, १ जना प्राविधिक, २ जना सहायकस्तरका कर्मचारीहरुको व्यवस्था मिलाएको नगर प्रमुख श्रेष्ठले बताए । कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्कीले नवौ कार्यपालिका बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेका थिए । कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार मुक्ति न्यौपानेले गरेका थिए ।