Shittalpati
‘पानी पर्यो कि निन्द्रै लाग्दैन’

रामचन्द्र रायमाझी
पाल्पा, वर्षायाममा झरी पर्दा रमाउनेहरू धेरै छन् । पानी परेको आवाजमा लठ्ठ पर्दै मस्त निदाउनेहरूको पनि कमी छैन । तर, पानी परेपछि निद्रा हराम हुनेहरू पनि कम छैनन् । पाल्पाको तिनाउ गाउँपालिका–२ को पासकुण्डका अधिकांश स्थानीयहरुलाई असार–साउन नै नआइदिए हुन्थ्यो जस्तो लाग्छ । बर्खाको समयमा माथिबाट बग्ने भलका कारण घर नै भत्किने र पुरिने डरका कारण यहाँका वासिन्दाहरुलाई रातमा निन्द्रा नै पर्दैन । पास कुण्डाका सन्तोष सोमैको घर चिराचिरा परेको छ । घरको भित्र जान सकिने अवस्था छैन । पानी नपर्दा चिराचिरा परेको घरको पिँढीमा सुत्छन् । पानी पर्दा भने गोठमा सुत्ने गरेको सोमै बताउँछन् । माथिल्लो सुकेताल गाउँबाट खेत भएको स्थानमा नयाँ घर बनाएर बसेका सोमैलाई अहिले पहिरोको त्रास छ । घर नजिकै भासिइसकेको छ भने घर समेत चिराचिरा परेको अवस्थामा छ । ‘पानी ठूलो परेमा घर नै भत्किने होकी भन्ने डर छ,’ उनले भने, ‘अहिले पनि पानी पर्‍यो कि निन्द्रै लाग्दैन ।’

निशा आचार्यको घर पनि भासिएको छ, भने तीन रोपनी खेत समेत बगरमा परिणत भएको छ । खानीबाट आएको ढुंगा सहितको भेलले उनको घर खेतमा क्षति पुर्‍याएको हो । उनलाई पनि पानी पर्न साथ चिन्ता पर्छ । ‘बासका लागि भएको पुरानो घर समेत भासियो छ’ आचार्यले भनिन् ‘गरिबलाई दैवले पनि अन्याय गर्दो रहेछन् अब जाने ठाउँ छैन, भएको एउटा सानो घर भत्किन आँटेको छ, साना छोराहरु लिएर कहाँ जाने ?’ दैविक विपत्तिको सामाना गर्दा आफन्त समेत पराई हुँने गरेको आचार्यले बताइन् । यि त केही प्रतिनिधि पात्र मात्र हुन् । यहाँका ८/१० घरपरिवार पहिरोको जोखिममा छन् । वस्ती माथि अल्फा सिमेन्ट खानीमा दैनिक गुड्ने टिपर र खानी क्षेत्रबाट आएको भलका कारण यहाँको वस्ती जोखिममा परेको हो । सिमेन्ट उद्योगका लागि कच्चा पद्धार्थ उत्खनन् गर्ने गरेका कारण पनि बर्खामा यहाँ समस्या हुने गरेको हो । पासकुण्ड गाउँको तल्लो क्षेत्रमा दोभान कचल खोलाले निरन्तर कटान गरेको छ । माथिल्लो भेगबाट पहाडै भासिएर बस्ती जोखिममा छ । कचल जाने सडकको तल्लो भाग तीन वर्षदेखि भासिँदै गए पनि त्यसतर्फ कसैले पनि ध्यान दिएका छैनन् । यही सडक भएर सर्वोत्तम चुनढुंगा खानी कचल जान्छ । अत्याधिक भार बोकेका टिपरका कारण सडकको छेउ भासिएको छ ।

यहाँबाट बर्खामा माटो बस्तीमा खस्ने गरेका कारण दीगो रुपमा ढल व्यवस्थापन हुन नसक्दा वस्ती जोखिममा परेको हो । अत्यन्तै कमजोर भू–भाग रहेको यहाँको वस्तीमा खानी क्षेत्रबाट आएको भलका कारण घर, विद्यालय नै भासिने र चर्कने क्रम बढेको छ । खानीबाट आउने वर्षाद्को भलका कारण यहाँका खेतियोग्य उर्वर भूमि बगरमा परिणत भएका छन् । दोभान पास कुण्ड गाउँमा सञ्चालित कालिका आधारभूत प्राथमिक विद्यालयको पठन–पाठन समेत अवरुद्ध हुने गरी क्षति पुगेको छ । खानी उत्खनन् कारण घर, गोठ पहिराले च्याप्ने डर र त्रासै त्रासमा रात काट्नु परेको स्थानीय गीता विक बताउँछिन् । उनी भन्छिन् ‘वर्षायाममा झम्झम् पानी पर्दछ त्यही पानीमा खानीबाट आएको भेलले माथिको ढिस्को घरमा ल्याएर परिवारको एउटै चिहान बनाउँछ कि भन्ने समस्याले सधैँ डर हुन्छ ।’

गत वर्ष बनाएको गोठ नै भासिएर पुरियो । शौचालय पनि भासियो त्यसै माथि घर छिया–छिया नै बनाएको पीडित नेपालीको गुनासो छ । वस्ती जोखिममा रहे पनि सम्बन्धित निकायले वेवास्ता गरेको पीडितहरुको गुनासो छ । पटक–पटक स्थानीय सरकार र खानी सञ्चालकलाई समस्या समधानमा पहल गर्न आग्रह गरे पनि सुनुवाइ नभएको यहाँका पीडितहरुको भनाई छ । स्थानीय सरकारले प्लाष्टिकको त्रिपाल बाहेक अरु केही पनि सहयोग नगरेको पिडितहरु बताउँछन् । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने आफुहरु पीडितको विषयमा चिन्तित बनेको बताए । उनले खानी सञ्चालकहरुसँग समन्वय गरेर छिट्टै पीडितहरुको समस्या समधान गर्नेमा जोड दिए ।

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update