रामचन्द्र रायमाझी
पाल्पा । जिल्लामा कोरोनाले असर गरेको भन्दै व्यवसायीहरूले भाडा र बैंकसँग छुट मागिरहेका बेला पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले भने भाडा मिनाह गर्ने घोषणा गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको सन्त्रासले जिल्लाको ब्यापार ठप्प भएपछि चैत महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेका हुन् । अध्यक्ष महर्जनले आफ्नो घर, भवनमा भाडामा बस्ने, व्यवसाय गर्नेलाई एक महिनाको भाडा मिनाहा गर्ने घोषणा गरेका छन् । ‘संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न । त्यसैले कम्तिमा एक महिनाको भाडा मिनाहा गरेर आफैंबाट सुरूवात गरेको हुँ’ अध्यक्ष महर्जनले भने । उनले यो बेला सबै एक भएर कोरोनासँग लड्नेबेला भएको र सबैले आ–आफ्नो ठाउँबाट सहयोग र सहुलियत दिन अन्य घरधनीहरुलाई समेत आह्वान गरेका छन् । होटल गौरी शंकरका सञ्चालक समेत रहेका महर्जनले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले व्यवसायमा समेत प्रभाव पारेको भन्दै केही भएपनि राहातको लागि भाडा मिनाहको व्यवस्था गरेको बताए ।
भाडा र बैंक व्याज मिनाह गर्न माग :
कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठूलो समस्या परेकाले पाल्पा उद्योग वाणिज्य संघ र जिल्ला होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले भाडा र बैंक व्याज मिनाह गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले कोरोना भाइरस संक्रमणका कारण उद्योग, व्यवसाय तथा पर्यटन क्षेत्रमा गम्भीर असर परेकाले भाडा र बैंक ब्याज छुट दिन सरकारसँग माग गरेको हुन् । स्थानीय उद्योगी व्यवसायी आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको ब्याज बुझाउने अवस्थासमेत नरहेको भन्दै बैंक व्याज, अग्रिम आयकर, घरभाडा छुट गरिदिन उनीहरुले सरकारसँग माग गर्दै आएका छन् । उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यवसायीलाई उपभोक्ताको हितलाई मध्यनजर गर्दै आफ्ना सेवा र सुविधाहरु सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । व्यापारको नाममा आफुसँग भएको माल सामान गोदाममा राखी मंहगो मूल्यमा विक्री वितरण नगर्न नगराउन समेत संघले उद्योगी व्यापारीलाई आग्रह गरेको छ । यदि कोही कसैले त्यसो गरेको पाईएमा प्रचलित ऐन अनुसार कानुनी कारवाही हुने समेत जनाएको छ ।