Shittalpati
पाल्पा र गुल्मीको जिसस निर्वाचन समय तोकियो

पाल्पा, स्थानीय तहको निर्वाचन सकिएपछि देशभरका जिल्लाहरुमा जिल्ला समन्वय समितिको निर्वाचन २०७९ हुन लागेको छ । पाल्पा र गुल्मीमा पनि जिल्ला समन्वय समितिको निर्वाचनका लागि समय तालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले पाल्पामा असार ३ गते र गुल्मीमा असार १ गते निर्वाचनको समय तालिका सार्वजनिक गरेका छन् ।
आयोगले कार्यतालिका अनुसार पाल्पामा जेठ ३१ गते मतदाताको नामवली प्रकाशन गर्ने, नामवली सच्याउने, संशोधित मतदामता नामवली प्रकाशन गर्ने, मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामवली प्रकाशन गर्ने छ । यस्तै असार १ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारीको नामवली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामवली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने रहेको छ । यस्तै असार ३ गते मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ । यहाँ २० जना मतदाता रहेका छन् । गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सीनालाई अगाडि सारेको छ । यस्तै भागबण्डामा उपप्रमुख पाएको नेकपा माओवादी केन्द्रले भने कृष्ण भूषाललाई उम्मेदवार बनाउने चर्चा चलेको छ । एमालेले प्रमुखमा रामपुर नगरपालिका–१०, गेझाका पूराना नेता टंक खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा भने तानसेन नगरपालिका–९, की काशिका गैरे र तानसेन नगरपालिका–१४, अर्गलीकी बसन्ता ज्ञवालीको नाम आएको छ । यसअघि २०७४ का समन्वय समिति प्रमुख दयाराज बस्यालको निधनपछि अर्को निर्वाचन भएको थिएन । त्यसपछिको कार्यकाल उपप्रमुख मिरा मरासिनीले चलाएकी थिइन् ।
यस्तै गुल्मीमा आयोगले यही जेठ २४ मतदाताको नामावली सार्वजनिक गरेको छ । त्यस्तै २७ गते मतदाता नामावली सच्याउन निवेदन दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । २८ गते मतदाताको विरोधमा उजुरी दिने र उजुरीउपर जाँचबुझ गर्ने एवं २९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ । जेठ ३१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारलाई निर्वाचन चिÞन प्रदान गर्ने कार्यतालिका रहेको छ । जिल्लाका १२ पालिकाका २४ मतदाता छन् । स्थानीय तहका प्रमुख–अध्यक्ष एवं उपप्रमुख–उपाध्यक्ष जिल्ला समन्वय समितिको निर्वाचनका लागि मतदाता हुन पाउँछन् । समन्वय समितिको निर्वाचनका लागि नेपाली काँग्रेस र नेकपा (एमाले)का १०/१० एवं नेकपा (माओवादी केन्द्र)का चार मतदाता छन् । पाँचदलीय गठबन्धनको तर्फबाट काँग्रेसका दोर्ण खत्रीलाई प्रमुख बनाउने तयारी छ । गठबन्धनको तर्फबाट उपप्रमुखका उम्मेदवार भने अझै टुङ्गो लागेको छैन । एमालेले भने प्रमुख–उपप्रमुखमा उम्मेदवारी दिने वा नदिने भन्ने विषय नै टुङ्गो नलागेकाले उम्मेदवार नटुङ्याएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update