Shittalpati
खाद्य स्वच्छताप्रति गम्भीर बन

पछिल्ला दिनहरुमा बजारमा अखाद्यवस्तुहरुको विक्री वितरण खुलमखुला रुपमा हुने गरेका छन् । अखाद्यवस्तुको विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमाथि नराम्रोसँग असर गरेको छ । अखाद्यवस्तुकै कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेका छन् । बजारमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने उद्देश्यले हरेक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता दिवस मनाउने गर्दछन् । यस वर्ष पनि स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न कार्यक्रम आयोजना गरी जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विश्व खाद्य स्वच्छता दिवस मनाएको छ । खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई जनमानसमा पुर्‍याउन विभागले दिवस मनाउने गरे पनि त्यसो हुन सकेको छैन । दिवस मनाउने गरिए पनि बजारमा छ्याप्छ्याप्ती अखाद्यवस्तुहरु विक्री वितरण भइरहेका छन् । पाल्पामा अखाद्यवस्तुहरु विक्री वितरण हुने गरे पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भने त्यसको प्रभावकारी अनुगमन गरेको छैन । दिवसलाई औपचारिकता दिन केही स्थानमा बजार अनुगमन गरे जस्तो गरे पनि त्यो प्रभावकारी बन्न सकेको छैन । जसका कारण बजारमा अखाद्यवस्तुको विक्री वितरणले प्रश्रय पाएको छ ।

खाद्य उद्योगमा देखिएको अपारदर्शितासँगै राजमार्गका होटल तथा रेस्टुरेन्टहरुमा के–कस्तो खाद्यवस्तुको उपयोग भैरहेको छ भन्ने बारेमा समेत प्रभावकारी अनुगमन भएको छैन । बजारमा खाद्य पदार्थमा अनेक थरी रङ मिसाउने चलन पनि अहिले बढ्दै गएको छ भने खाद्यान्नमा मिसावट गरेर बिक्रीसमेत गरिरहेको पाइन्छ । यसको रोकथाम प्रभावकारी अनुगमन नै हो, जुन हुन सकेको छैन । कुनै पनि खाद्यवस्तुको उपभोग र प्रयोगको प्रक्रिया सोझै स्वास्थ्यसँगै जोडिएको हुन्छ । गलत प्रकारको खाद्य पदार्थ र खानपानकै कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष हानी नोक्सानी पुग्ने हो । यस अर्थमा पनि खाद्यवस्तु उत्पादन भएको अवस्थादेखि उपभोग हुँदासम्मको स्थितिलाई निकै संवेदनशीलरुपमा लिइन्छ । तर सरकारी तवरबाट अखाद्य वस्तु बजारमा विक्री हुँदासमेत यसतर्फ ध्यान दिएको देखिदैन । स्वास्थ्य सबैभन्दा संवेदनशील विषय भएकाले सरकार र सम्बन्धित निकाय यसतर्फ गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update