सुशीला रेग्मी (रासस)
रामपुर (पाल्पा), समथर र पहाडीभेग समेटिएको रामपुर नगरपालिका प्राकृतिक हिसाबले रमणीय नगरको रुपमा परिचित छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरमा सडक, भवन, कृषि, पर्यटन, आयमूलक लगायतका क्षेत्रमा विकासले गति लिएको छ ।
पूर्वाधार विकासतर्फ पाँच वर्षको अवधिमा यहाँ १ सय २१ दशमलव ४ सय ५९ किलोमिटर सडक स्तरोन्नति (नयाँ टूयाक, ग्राबेल, मर्मत), १५ दशमलव ७ सय ५९ किलोमिटर सडक कालोपत्र, २३ कल्भर्ट, भवन, विकासतर्फ २ सय १८ आवास तथा शहरी विकास, २ सय ४९ खानेपानी र आठ सभाहल निर्माण भएको छ । यहाँ आठ पार्क, दुई गुफा तथा दुई कबर्ड हल निर्माणाधीन अवस्थामा रहेको नगरका सूचना अधिकारी रामहरि पाण्डेयले बताए । कूल रु. एक करोड ६४ लाख तीन हजार बराबरको लगानीमा २०७६ फागुन १६ गते ‘रामपुर नगर पूर्ण उज्यालो नगर’ घोषणा गरियो । रु. दुई करोडको लगानीमा ‘खररहित घर, रामपुर नगर’ कार्यक्रम अन्तर्गत खरले छाएको घरमा जस्तापाता उपलब्ध गराइएको छ । तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास, रामपुरमा छाडा गाईको समस्या समाधान र गौ संरक्षणका लागि गौशाला निर्माण गरी सञ्चालन गरिएको छ । अहिले यहाँका स्थानीय छाडा पशुचौपायाको समस्याबाट मुक्त भएको स्थानीय गंगा बस्यालले बताए ।
ज्याग्दी वनमा चिडियाखाना सहितको वृहत पार्क निर्माण कार्य, नगरको प्रशासनिक भवन निर्माण गरी सहजरुपमा सेवा प्रदान गरिएको छ । नगरका सबै वडामा इन्टरनेट जडान गरी अनलाइन घटना दर्ता सञ्चालन, राजस्वका साथै अन्य सफ्टवयर सञ्चालन, नगर कार्यालय तथा बेझाड बजार क्षेत्रमा सिसी क्यामेरा जडान, नगरभित्र रहेका मुख्य पाँच बजार क्षेत्रमा फ्रि वाईफाई जडान कार्य भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । ‘रामपुर नगरमा सोँचेभन्दा धेरै काम पूरा भएका छन्, कच्ची सडक पक्की बनेका छन्, गाउँगाउँमा सडक पुगेका छन्, जनताप्रति उत्तरदायी भएर निर्वाचनका बेला गरेका प्रतिबद्धता हामीले पाँच वर्षमा लगभग ९० प्रतिशत सम्पन्न गरेका छौँ, बाँकी काम पूरा गर्न कोभिड १९ ले सकिएन’ उनले भने । अघिल्लो कार्यकाल पनि नगरप्रमुखमा निर्वाचित भएका थापाले यस पटक पनि स्थानीयले नगरको विकासका लागि आफूलाई प्रमुखमा निर्वाचित गराएकाले उनीहरुको अपेक्षा अनुसार काम गर्ने बताए ।
सामान्य पानी परेका समय सवारीसाधन चलाउन नसक्ने कच्ची सडक अहिले कालोपत्रे हुँदा सहज रुपमा नगरभित्र नागरिकले आवतजावत गर्न पाएका छन् । जनताको मर्मत र भावनाअनुसार नगरले पाँच वर्षको अवधिमा पूर्वाधार विकास, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा गर्व गर्न लायकको काम गरेको युवा रामप्रसाद ढकाल बताए । उनी भन्छन्, ‘जनप्रतिनिधि नहुँदाको अवस्था र जनप्रतिनिधि आइसकेपछिको अवस्था नियाल्दा पछिल्ला वर्ष रामपुर नगरले ठूलो फड्को मारेको छ, नगरको पूर्वाधार विकाससँगै यहाँ आन्तरिक पर्यटकको आवागमन, व्यापार, व्यवसाय, उद्योग फस्टाउँदै गएको छ ।’ नगरपालिकाभित्र चार स्वास्थ्य चौकी, पाँच आधारभूत स्वास्थ्य केन्द्र, छ शहरी स्वास्थ्य केन्द्र गरी १५ स्वास्थ्य संस्थाहरुबाट सेवा प्रदान भइरहेको छ । स्वास्थ्य सुविधासहित चार ‘वर्थिङ् सेन्टर’ र दुई प्रयोगशाला सहितको स्वास्थ्य संस्था छन् । १५ शैयाको पञ्चकर्म सहितको अस्पतालको भवन निर्माणाधीन र ५० शैयाको रामपुर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सबै आधारभूत तथा माध्यमिक विद्यालयमा इन्टरनेट जडान र विस्तार तथा सम्पूर्ण आधारभूत विद्यालयमा गणित, विज्ञान, अंग्रेजी किट (सामग्री) खरिदका लागि अनुदान, छ विद्यालयमा दुईकोठे टूस्ट भवन निर्माण भएका छन् । यस्तै कृषि उपजलाई सुरक्षितसाथ भण्डारण गर्न पाल्पामै सबैभन्दा ठूलो ३ सय मेटिूकटन क्षमताको शीत भण्डार निर्माण भएको छ । जिल्लामै ठूलो क्षमताको उच्च प्रविधि (हाईटेक)को तरकारी टनेल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यस टनेलबाट कृषक तथा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक ज्ञान, सीप सिक्न सजिलो भएको छ ।
रामपुर नगर नेपाल सरकारले विसं २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिका मध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगर पनि हो । साविकका गाँडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविसलाई समावेश गरी १९ वडा बनाइएको यस नगर १ सय २३ दशमलव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । विसं २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षणअनुसार करिब ४२ हजार जनसंख्या भए पनि विभिन्न पेशा तथा व्यवसाय गरी बसोबास गर्नेसमेतको संख्या करिब ६० हजार रहेको अनुमान छ । यहाँ पछिल्लो समय बस्ती बढ्दै गएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरको (नवलपरासी सुस्तापूर्व) केन्द्रका रुपमा रहेको रामपुरमा विकास निर्माणले गति लिएसँगै व्यापार, व्यवसाय तथा उद्योग खुल्ने क्रम बढेको छ ।