हुमाकान्त पोखरेल (रासस)
तम्घास, दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अधिकांश नयाँ जनप्रतिनिधि छन् । धुर्कोट र कालीगण्डकी गाउँपालिकामा अध्यक्ष एवं मदानेमा उपाध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अन्य पालिकामा भने स्थानीय तह निर्वाचनमार्फत सबै नयाँ अनुहार निर्वाचित भएका हुन् । १२ पालिकामध्ये दुई पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् । बाँकी १० पालिकामा अध्यक्ष र प्रमुख पुरुष एवं उपाध्यक्ष र उपप्रमुख महिला छन् । सबै पालिकामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठक बसेको छ । पालिकाअनुसार बैठकका निर्णय पनि फरक–फरक छन् ।
आगामी पाँच वर्षमा ‘एक घर–एक धारा’ पु¥याउने, महिलालाई प्रसूतिका लागि यातायात खर्च पालिकाले व्यहोर्ने लगायतका केही साझा निर्णय पनि गरेका छन् । त्यस्तै निःशुल्क बिजुली, विपन्न नागरिकको स्वस्थ्य बीमामा अनुदान, घर एवं संरचनाको बीमा लगायतका योजना पनि नवनिर्वाचित जनप्रतिनिधिले अगाडि सारेका छन् । निर्वाचित प्रतिनिधिले अबको पाँच वर्षमा खानेपानी, सडक, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । १२ महिना सञ्चालनमा ल्याउने सडक निर्माण, न्यूनतम रोजगारी सिर्जना, मातृशिशु मृत्युदरमा शून्यता, निःशुल्क आवासीय शिक्षा सञ्चालन गर्नेलगायतका लक्ष्य पनि नवनिर्वाचित प्रमुख एवं अध्यक्षले लिएका छन् ।
धुर्कोट गाउँपालिकाले कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । कृषि र पशुपालनलाई व्यवसायीकरण, उत्पादनमा वृद्धि, पर्यटकीय पूर्वाधारको संरचनामा थप, सहकारी र घरेलु उद्योगमार्फत रोजगार सिर्जनाका योजना बनाएको गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताए । अभिभावक विहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा प्रदान, प्रत्येक वडा कार्यालयसम्म जाने सडकलाई पक्की बनाउने, प्रत्येक वडामा नमूना विद्यालय बनाउने, ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाई स्वरोजगार बनाउनेलगायतका योजना दोस्रो कार्यकालमा पूरा गर्ने पोखरेलको भनाइ छ । त्यस्तै पहिलो कार्यकालमा सुरु गरेका तर पूर्ण हुन नसकेका योजनालाई पनि पूरा गर्ने पोखरेलले बताए । मालिका गाउँपालिकाले पाँच वर्षसम्म ‘एक घर–एक धारा’ पु¥याउने लक्ष्य लिएको छ । त्यसैगरी हाल बैंकबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता टोल–टोलबाट वितरण गर्ने, शिक्षामा आधुनिक प्रविधिको प्रयोग गरी स्वरोजगार सिर्जना गर्ने, १२ महिनै चल्ने सडक बनाउने लगायतका लक्ष्य लिइएको पालिका अध्यक्ष देविराम अर्यालले बताए । स्वास्थ्यमा सबै नागरिकको पहुँच, पालिका केन्द्र अर्खबाङसम्मको सडक पक्की बनाउने पनि अध्यक्ष अर्यालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई व्यवस्थित बनाइ उत्पादनसँग जोड्ने, बसाइँसराइ रोक्न कार्यक्रम सञ्चालन गर्ने, वडामा नमूना विद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष अर्यालले बताए । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आगामी पाँच वर्षमा विपन्न र असहाय नागरिकलाई सामान्य दाल, भात र तरकारी खानसक्ने बनाउने लक्ष्य लिएको बताए । ‘कालीगण्डकीमा एकदमै गरिबी छ, सके दाल, भात र तरकारी, नसके भात र तरकारी मात्रै भए पनि खानसक्ने बनाउने लक्ष्य लिएका छौँ’, उनले भने । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित थापाले पशुपालन, तरकारी खेती लगायतका कार्यक्रममार्फत रोजगारी सिर्जना गर्ने पनि आफुहरुको उद्देश्य रहेको बताए ।
रेसुङ्गा नगरले स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनलाई प्राथमिकता दिएको छ । आगामी पाँच वर्षमा तम्घासलाई सडक बालबालिकामुक्त बनाउने, सालझण्डी–तम्घास सडक सञ्चालन गर्ने, सबै वडामा १२ महिनै यातायात चल्ने सडक बनाउने, घर–घरमै स्वच्छ खानेपानीको व्यवस्था गर्ने योजना रहेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । रेसुङ्गा, अर्जुनडाँडा, उनायचौरलगायतका क्षेत्रम पर्यटकीय पूर्वाधारको संरचना वृद्धि गरी पर्यटक भित्र्याउने योजना रहेको उनले बताए । संघीयताको कार्यान्वयन पछि चहलपहल हराउँदै गएको सदरमुकामलाई पहिलेजस्तै बनाउने पनि पन्थीको योजना छ । गुल्मीदरबार गाउँपालिकाले विगतका अधुरा योजनालाई पूरा गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार पालिका, प्रदेश र संघबाट बजेट विनियोजन भएका तर सम्पन्न हुन नसकेका योजनालाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।
‘सुरु गरेका धेरै अधुरा काम सम्पन्न गर्नुपर्ने छ’ उनले भने, ‘विगतका काम पूरा गर्दा पनि धेरै उपलब्धि देखिन्छ ।’ उनले गाउँमै रोजगार सिर्जना गर्न पलम्बिङ, कृषि र पशुसँग सम्बन्धित तालिम प्रदान गर्ने बताए । त्यस्तै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क बिजुली पानी उपलब्ध गराउने आफूहरुको योजना रहेको थापाले बताए । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बेरोजगारीको न्यूनीकरणका लागि काम गर्ने योजना रहेको बताए । त्यसका लागि कृषिजन्य वस्तुको उत्पादन र मझौला उद्योगको स्थापना गर्ने योजना रहेको उनले सुनाए । हाल चलिरहेको प्रधानमन्त्री रोजगारका कामदारलाई गाउँपालिकाले समेत रकम थप गरी उत्पादनमूलक काममा लगाउने र त्यसरी उत्पादन भएको सामग्रीलाई मझौला उद्योगमार्फत प्रशोधन गरी बिक्रीयोग्य बनाउने पाण्डेले बताए । आगामी पाँच वर्षसम्म विद्युतलाई नियमित र व्यवस्थित गर्ने, पालिकाका स्वास्थ्य संस्थामा हुन नसक्ने सुत्केरीको लागि यातायात खर्च व्यहोर्ने पनि गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाइ छ ।
चन्द्रकोट गाउँपालिकाले सबै महिला स्वास्थ्य संस्थामै प्रसूति हुने र मातृशिशु मृत्युदर ‘शून्य’मा झार्ने लक्ष्य लिएको छ । पालिका अध्यक्ष युवराज केसीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले पालिका बाहिर प्रसूति हुनुपरेमा त्यसको खर्च पालिकाले व्यहोर्नेसमेत निर्णय गरिएको बताए । त्यसका साथै पाँच वर्षमा वडा कार्यालयसम्म पुग्ने सडक ग्राभेलिङ गर्ने, कृषिजन्य वस्तुको उत्पादन र बजारीकरण गर्ने, प्रत्येक वडामा न्यूनतम एउटा नमूना विद्यालय सञ्चालन गर्ने पनि योजना गाउँपालिकाकने छ । इस्मा गाउँपालिकाले शिक्षाको गुणस्तरमा सुधार, नागरिकको घर–दैलोसम्मै स्वास्थ्य सेवा पु¥याउने, सेवा प्रवाहलाई छिटो–छरितो गर्ने योजना बनाएको छ । गाउँपालिकाका अध्यक्ष भगतसिहं खड्काले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । आगामी पाँच वर्षमा इस्मा गाउँपालिकालाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने, ‘एक वडा–एक उद्योग’लाई पूरा गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको अध्यक्ष खड्काले बताए । टारदेखि घर्तीफाँटसम्म छल्दी खोलालाई व्यवस्थित तटबन्धन गरी पर्यटन पूर्वाधार निर्माण गर्ने, बाध्यताले विदेशिएका युवालाई गाउँपालिका फर्केर मातृभूमिमै काम गर्ने वातावरण बनाउने योजना रहेको खड्काको भनाइ छ ।
रुरुक्षेत्र गाउँपालिकाले अधिकतम् पर्यटक भित्र्याएर रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । रिडीधाम, तीनमुखे पुल, बम्घाकोतलगायतका धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी पर्यटक भित्र्याउने र त्यसैबाट समृद्धि खोज्ने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए । पाँच वर्षभित्रमा मुख्य सडक पिच गर्ने, कृषिका विभिन्न पकेट क्षेत्र निर्माण गरी कृषि उत्पादन बढाउने आफुहरुको उद्देश्य रहेको अध्यक्ष ज्ञवालीको भनाई छ । सत्यवती गाउँपालिकाले सुुशानलाई प्राथमिकतामा राखेको छ । पालिकामा अहिलेसम्म आवधिक योजना नबनेकोले अल्पकालीन र दीर्घकालीन आवधिक योजना बनाउने, रुद्रवेणी–ठूलोलुम्पेक एवं जुहाङग–भार्से सडकलाई पिच गर्ने योजना रहेको छ । ‘समृद्ध सत्यवती, सुखी जनता’ को अवधारणा अनुसार किसानले उत्पादन गरेका कृषिजन्य सामग्री गाउँपालिकाले खरिद गरिदिने, रुद्रवेणीको साँघुरेमा ताल बनाएर पर्यटक ल्याउने, एक घर–एक धारा अभियानाई पूरा गर्ने अध्यक्ष टीकाराम पाण्डेले बताए । त्यसैगरी उल्लिखोला, साहाघाटजस्ता क्षेत्रमा तटबन्धन गर्ने, विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने, सामाजिक सुरक्षा भत्ता टोल–टोलबाटै वितरण गर्नेलगायतका योजना रहेको अध्यक्ष पाण्डेले बताए ।