Shittalpati
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ

नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् । ती यात्रुहरु धेरैजसो गम्भीर रुपमा नै घाइते भएको बताइएको छ । चालक निदाएकै कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । उक्त रोहिणी पुलबाट यसभन्दाअघि पनि कयौंपटक सवारीसाधनहरु खोलामा नखसेका होइनन् तर त्यसप्रति सरोकारवालाले खासै ध्यान दिन नसक्दा देशले फेरि अर्को भीषण दुर्घटना भोग्न बाध्य भएको हो । जुन आफैंमा कहालीलाग्दो घटना पनि हो । दुर्घटना केवल मर्ने र अङ्गभङ्ग हुनेहरुको मात्र सरोकारको विषय होइन र हुँदैन पनि, त्यसले घरपरिवार, आफन्तजनमा समेत ठूलो कष्ट दिने गर्छ । दुर्घटनामा परेकाहरुको परिवारलाई राहत दिएर केही मन बुझाउने गरिए पनि दुर्घटना नियन्त्रणमा ध्यान नदिदा सम्म यस्ता कहाली लाग्दा घटनाहरु घटी नै रहने छन् ।

सरकारको सवारी दुर्घटनाप्रतिको उदासीनताकै कारण देशमा दैनिकजसो घटना घटेका हुन भन्दा पनि फरक पर्दैन । यातायात व्यवस्थाको भद्रगोलले चालकलाई सजग र जिम्मेवार बनाउन नसकेकै कारण कमजोरीले खेल्ने ठाउँ पाइरहेको छ । यति मात्र होइन, सडक सुरक्षा प्रणाली नै नहुँदा यातायात सम्बन्धी हरेक पाटोले दुर्घटनाको जोखिम बढाइरहेको छ । अध्ययनहरूले नेपालमा सवारी दुर्घटनाको प्रमुख कारण चालकको कमजोरीपछि सवारी साधनको अवस्था, सडकको स्तर, सडक प्रयोगकर्ता, मौसम र दुर्घटनापछिको व्यवस्थापनले भूमिका खेलेको देखाएको छ । सडक सुरक्षा मुख्य गरी चालक, सवारी साधन र सडकसँग जोडिने विषय हो । तर, यी तीनवटै पाटा चुस्तदुरुस्त छन्/छैनन् भनेर हेर्ने संयन्त्र र यिनलाई सुयोग्य अवस्थामा राख्ने प्रणाली राज्यले बनाएकै छैन । जसलाई मौसमी रूपमा गरिने सचेतना अभियान र प्रचारात्मक कार्यक्रमले ढाकछोप गरिन्छ । यसर्थ सरकारले दुर्घटना जस्तो दुखद् र गम्भीर समस्यालाई सम्बोधन गर्न ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update