Shittalpati
वातावरण संरक्षण आवश्यक

पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर पर्नुपर्ने बाध्यता छ ।

बढ्दो जनसंख्याका कारण भएको अव्यवस्थित सहरीकरण, विभिन्न पूर्वाधारहरूको निर्माण, बढ्दो मात्रामा यातायातका साधनहरूको प्रयोग, विभिन्न रासायनिक पदार्थहरूको प्रयोगले गर्दा वातावरण दिन प्रतिदिन प्रदुषण हुने गरेको छ । नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । यसतर्फ सबैले ध्यान दिनु आवश्यक छ । हुन त वातावरण संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष ५ जुनमा विश्व वातावरण दिवस बनाउने गरिन्छ । आज पनि वातावरण सम्बन्धि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष यो दिवस मनाउने गरिए पनि वातावरण संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिदैन । दिवसको मुख्य उद्देश्य प्रकृतिलाई सुरक्षित राख्न जागरुकता बढाउनु र दिनहुँ बढिरहेका विभिन्न वातावरणीय मुद्दाहरूको सम्बोधन गरी स्वस्थ र सुरक्षित वातावरणका लागि विश्वव्यापी रूपमा मानिसहरूलाई प्रोत्साहन गर्नु हो । तर त्यसो हुन सकेको छैन । यो अत्यन्त दुःखद् कुरा हो । विकासको नाममा गरिने वातावरणप्रतिको बेवास्तालाई ध्यान दिए स्वच्छ वातावरण राख्न सकिन्छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा वातावरण प्रदुषण हुन नदिनु नै वातावरण संरक्षण गर्नु हो । यसका लागि मानव सुमदायले बढ्दो जनसंख्या कम गर्नुपर्ने, जैविक विविधताको संरक्षण गर्नुपर्ने, प्राकृतिक स्रोतसाधनहरूको समुचित किसिमले प्रयोग गरी संरक्षण गर्ने, औद्योगिकीकरण तथा सहरीकरण गर्दा वातावरणीय प्रभावलाई ध्यान दिनुपर्ने, कीटनाशक औषधि र रसायनहरूको प्रयोग कम गर्दै जानुपर्ने र यातायातका साधनहरूको प्रदुषण कम गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update