पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले व्यवस्थित बस्ती निर्माणका लागि गुरुयोजना बनाउन वस्तीस्तरमा छलफल अगाडि बढाएको छ । उसले पालिका भित्र रहेका शहरी वस्तीहरुलाई व्यवस्थित बनाउन गुयोजनाका लागि छलफल चलाएको हो । मानव वस्तीको विकास बढ्दै गएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा वस्तीस्तरबाटै छलफल गरी गुरुयोजना बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताए । उनले भने ‘माथागढीको सराई, कसेनी, खहरे र झडेवाको वस्तीलाई व्यवस्थित बनाउन गुरुयोजना बनाउन छलफल अगाडि बढाएका छौं ।’ सहरी विकास तथा भवन कार्यालयका इञ्जिनीयर सहितको विज्ञ टोलीबाट वस्तीहरुको अध्ययन गरी स्थानीय नागरिक, जनप्रतिनिधिहरु बिच गुरुयोजना बनाउने विषयमा छलफल अगाडि बढाइएको अध्यक्ष चिदीले बताए । उनका अनुसार मंगलबार सराई–कसेनी बजारको वस्ती विकासका लागि गुरुयोजना बनाउन छलफल गरिएको छ ।
पछिल्लो समय अव्यवस्थित रुपमा वस्ती विकास हुँदै गएकाले त्यसलाई व्यवस्थित बनाउने दिशामा पालिकाले गुरुयोजना बनाउने अध्यक्ष चिदीले बताए । उनले छलफलबाट आएका विषयहरुलाई गुरुयोजनाका रुपमा नीति तथा कार्यक्रममै समेट्ने बताए । वस्तीलाई व्यवस्थित गर्न घरहरु नक्सा पास गरेर मात्र बनाउने व्यवस्था योजनामा समेट्ने अध्यक्ष चिदीले एनजेडीसँगको कुराकानीमा बताए । उनले भने ‘फोहोरमैला व्यवस्थापन, ढल व्यवस्थापन, बालउद्यान, शुद्ध खानेपानी, सडक विस्तार, कृषि उपज संकलन केन्द्र, हाट बजार सञ्चालन, सामुदायिक सभाहल जस्ता योजनालाई गुरुयोजनमा समावेश गरिने छ ।’ छलफलमा स्थानीयहरुले वस्ती अव्यवस्थित हुँदा समस्या भएको बताएका छन् । उनीहरुले वस्तीलाई व्यवस्थित गर्न गाउँपालिकाले ढिलै भए पनि सोचेको बताए ।
स्थानीयले विद्युत तारलाई व्यवस्थापन, तटबन्ध निर्माण, कृषि पर्यटन, हाटबजार सञ्चालन, डम्पिङ साइड निर्माण, खानेपानी मुल संरक्षण, पशुपालन व्यवस्थापन, सडक व्यवस्थापन, खानेपानी व्यवस्थापन जस्ता वस्ती विकासका काममा ध्यान दिन पालिकालाई आग्रह गरेका छन् । अबको पाँच वर्षभित्र गुरुयोजना अनुसार वस्ती निमार्ण हुने अध्यक्ष चिदीले बताए । उनले पालिका भित्रका मुख्य वस्ती र सडक साँघुरो हुँदा यात्रा जोखिमपूर्ण बनेको उनको भनाइ छ । जनसंख्या र बस्ती बढ्दै जाँदा भविष्यमा चुनौती थपिने भन्दै उनले गुरुयोजना बनाउन छलफल थालिएको बताए । ‘गुरुयोजना बनाउन वस्तीस्तरमा छलफल चलाईरहेका छौं’, उनले भने, ‘यसले व्यवस्थित वस्ती बनाउन सहयोग पुग्छ ।’