पाल्पा । कोरोना भाइरस संक्रमणका कारण पर्यटकहरु आउन छोडेपछि जिल्लाका होटल व्यवसायीहरुले बैंकको ब्याज र किस्ता बुझाउन समस्या भएको भन्दै सरकारसँग सहयोगको माग गरेका छन् ।
कोरोनाका कारण विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको असर स्थानीय व्यवसायमा देखिन थालेकाले व्याज मिनाहको माग गर्दै पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष श्रेष्ठले होटल व्यवसायी तथा निजी क्षेत्रलाई राहत दिन माग गरेका छन् । होटल व्यवसायी आर्थिक मन्दीको मारमा पर्न थालेको र बैंकको ब्याज बुझाउने अवस्था समेत नरहेको महशुस गरी संघले राहतका कार्यक्रम अघि सार्न सरकारसँग माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले होटल व्यवसायीले उठाएका माग सहितको ज्ञापनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए । संघले उठाएको विषय व्यक्तिगत नभई सम्पूर्ण निजी क्षेत्रकै विषय भएकाले समस्या समाधानमा सरकारले ध्यान केन्द्रित गर्ने उनले विश्वास व्यक्त गरे । कोरोना भाइरसको सक्रमणले नेपाल सरकारले मनाउन लागेको भ्रमण बर्षलाई सफल पार्न होटल तथा रेष्टुरेण्ट व्यवसायमा ठूलो लगानी भइरहेको अवस्थामा एका एक विषम परिस्थिति सिर्जना भई नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्र बढी प्रभावित भएको संघका अध्यक्ष श्रेष्ठ र महासचिव लक्ष्मण बस्यालद्वारा जारी ज्ञापन पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट समेत सभा सम्मेलन गोष्ठी लगायतका सम्पूर्ण कार्यक्रम नगर्न निर्देशन जारी गरेकाले पनि होटल तथा रेष्टरेण्टको व्यापारमा ह्रास आएकाले कर्मचारी तलब, भाडा, बैंक ब्याज तिर्न सक्ने अवस्थामा व्यापारीहरु नरहेको भन्दै बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण व्यवसायीलाई तिर्न पर्ने ब्याज रकम मिनाह र घरभाडामा छुट दिने व्यवस्था मिलाइदिन संघले सरकारसँग माग गरेको संघका वरिष्ठ उपाध्यक्ष जीवलाल सुवेदीले बताए । कोरोना संक्रमणका कारण नेपाल आउने पर्यटकहरुले धमाधम बुकिङ रद्द गरिरहेका छन् भने आन्तरिक रुपमै घुम्न जानेहरुको संख्यामा पनि कमी आएको छ ।
सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेकै कारण उत्साहित भएका पर्यटन व्यवसायीहरु एक्कासी कोरोना भाइरसको प्रभावले पर्यटक आगमन नभएपछि निरास भएका छन् । अहिले नेपालका अधिकांश होटलहरु खाली छन् । कोरोनाले पर्यटन क्षेत्र तहसनहस भएपछि अहिले पर्यटन व्यवसायीहरुले सरकार मार्फत बैंकहरुलाई ब्याज मिनाहा वा सहुलियत दिन र कालोसूचीमा नराख्ने वातावरण बनाउन अनुरोध गरिरहेका छन् ।