रामचन्द्र रायमाझी
पाल्पा, देशका धेरै ठाउँहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरिसक्दा पाल्पाको रम्भा गाउँपालिकामा भने बल्ल मतगणना सुरु भएको छ । वैशाख ३१ गते अपरान्हदेखि स्थगित भएको यहाँको मतगणना जेठ ६ गते शुक्रबार दिउँसो ३ :१८ बजेदेखि पुनः सुरु भएको हो ।
रम्भा ५ ताहुँको मतगणना गर्दा खसेको मत भन्दा ७४ मत बढी भेटिएपछि सिर्जना भएको विवादका कारण मतगणना स्थगित भएको थियो । शुक्रबार विवाद समाधान भएपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रुक्मागत अर्यालले बताए । उनका अनुसार सर्वदलीय बैठक पछि मतपत्र, सिसिटिभि फुटेज, मतपत्रका अर्धकट्टी छानबिन गरी मतगणना प्रारम्भ गरिएको हो । ‘छानविनका क्रममा मतपत्र बढी नभेटिएको तर कर्मचारीले रेजा लगाउँदा गल्ति गरेको देखिएको छ’ प्रमुख अर्यालले भने । फुटेज हेर्दा कर्मचारीले दायाँ बायाँ नगरेको बरु रेजा लगाउने क्रममा विग्रीदा अतालिएको जस्तो देखिएको उनले बताए । प्रमुख अर्यालका अनुसार अनुसन्धानपछि खसेको मत बराबर नै हुन गएपछि सबै दल सहमतिमा पुगेर मतगणना सुरु गरिएको हो । पहिला मतगणनामा संलग्न रहेका कर्मचारीहरुलाई फिर्ता बोलाई पुनः नयाँ कर्मचारीबाट मतगणना कार्य थालिएको उनले बताए ।
मत गन्न तानसेनबाट १० जना कर्मचारी निर्वाचन कार्यालय र प्रशासनबाट खटाइएको छ । कडा सुरक्षाका बिच मतगणना भइरहेको छ । विवाद समाधानपछि शान्त वातावरणमा मतगणना भइरहेको गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । उनले खसेको मत १ हजार ९ सय २३ नै भेटिएको र डबल इन्ट्री हुन गई बढी देखिदाँ विवाद सिर्जना भएको एनजेडीसँगको कुराकानीमा बताए । उनले भने, ‘विवाद समाधान भएकाले अब सरासर मतगणना हुन्छ ।’ निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर मतगणना सुरु गर्न बुधबार नै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । मतगणना सकिएर जोड्ने क्रममा ७४ मत बढी भेटिएपछि यहाँ विवादले चरमरुप लिएको हो । विवादपछि भएको झडपमा परी सुरक्षाकर्मी सहित ६ जना घाइते भएका थिए । निर्वाचन अधिकृतको कार्यलयतर्फ जान खोज्ने गठबन्धन दलका कार्यकर्तालाइ रोक्ने क्रममा झडप भएको थियो ।
झडपमा प्रदर्शनकारीले ढुंगा र लाठी वर्षाउन थालेपछि प्रहरीले अश्रुग्याँस समेत हानेको थियो । यहाँ गठबन्धन दलले गहिरो गरी अनुसन्धान गरेर खसेको मतको हिसाब किताब मिलाएर मात्र अगाडि बढ्ने अडान लिएपछि मतगणना एक हप्ता लम्बिएको हो । सत्तारुढ गठबन्धन काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका साथै मंगोल अर्गनाइजेसन नेपालले सार्वजनिक नतिजाप्रति असहमति जनाएका थिए । उनीहरुले मतगणना कार्यमा आवश्यक सीसीटीभी व्यवस्था नगरेको, मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिलाई सहभागी नगराइएको, आवश्यक बिजुली बत्ती व्यवस्था नगरेको, पालिकामा कार्यरत कर्मचारीहरुको प्रयोग गरिएको आरोप लगाउँदै आएका थिए ।