इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर नगरपालिका ५ बेझाँडमा स्विटर बुन्ने तालिम सकिएको छ । आदिवासी जनजाती समन्वय समिति रामपुर ५ को आयोजना र रामपुर नगरपालिका ५ को आर्थिक सहयोगमा गत फागुन २० देखि सुरु भएको तालिम शुक्रबार सकिएको हो ।
आदिवासी जनजाती महिलाहरुलाई सीप सिकाई आयआर्जनमा प्रेरित गर्ने लक्ष्यका साथ भएको तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्लले तालिमले सीपसंगै आत्मविश्वास जगाउने बताए । उनले तालिम सञ्चालनको क्रममा लिएको उद्देश्य प्राप्त गर्न सकेमा मात्र तालिम लिएको औचित्य हुने बताए । रामपुर नगर आफैमा सम्भावना युक्त ठाउँ भएकाले आयआर्जनमा लाग्न उनले आग्रह गरे । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य एव वडा सदस्य सावित्रा गौतमले वडाले आगामी दिनमा पनि आवश्यकता अनुसार ऐनको परिधिमा रहेर आदिवासी जनाजाती समुदायको उत्थानका लागि सहयोग गर्ने बताइन् । रामपुर नगरपालिकाका न्यायिक समितिका सदस्य एवं वडासदस्य विष्णुप्रसाद बस्यालले स्विटर बुन्ने तालिम भएपनि यसको आधारमा अन्य सामग्रीहरु पनि तयार गर्न सकिने भन्दै आफ्नो सीपको सक्दो सदुपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा वडा ५ का वडा सदस्य माया नेपाली, वडा ५ का सचिव महेशप्रसाद भट्टराई, पत्रकार सुशिला रेग्मी, सहभागीहरु मनकुमारी थापा र ज्योति कुमालले तालिम निकै प्रभावकारी भएको बताएका थिए । तालिम समापनको अवरसरमा सहभागी मध्य उत्कृष्ट हुन सफल विष्णु श्रेष्ठ, बसन्ती श्रेष्ठ र शान्ति श्रेष्ठ र जेष्ठ सहभागी तिलकुमारी कुमाललाई सम्मान गरिएको थियो । साथै जनप्रतिनिधि तथा अतिथिहरुलाई महिलाहरुले आफैले उत्पादन गरेका सामग्री उपहार प्रदान गरेका थिए । आदिवासी जनजाती समन्वय समिति रामपुर ५ का अध्यक्ष भोजबहादुर रानाको अध्यक्षता, सदस्य सरस्वती श्रेष्ठको स्वागत, सहसचिव शोभा आलेको धन्यवाद र सचिव विन्दु श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । वडाका ११ जना आदिवासी जनजाती महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण सुकमाया श्रेष्ठ, शोभा आले र विन्दु श्रेष्ठले गरेका थिए ।