Shittalpati
शित्तलपाटी डटकममा समाचार प्रकाशित भएकै अर्को दिन २ सय ८० लिटर मदिरा नष्ट

कृष्ण पोखरेल
पाल्पा । शित्तलपाटी डटकममा बिहीबार पाल्पामा बढ्दो अवैध घरेलु मदिरा उत्पादन भन्ने समाचार प्रकाशित भएको थियो । यो समाचार प्रकाशित भएको अर्काे दिन (आज) नै तानसेनतर्फ ल्याउदै गरेको अवैध घरेलु मदिरा प्रहरीले पक्राउ गरेर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले बगनासकाली गाउँपालिका ५ को खानीछापबाट तानसेनतर्फ ल्याउदै गरेको २ सय ८० लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

अस्थायी प्रहरी चौकी भुसालडाडाबाट खटिएको प्रहरीटोलीले तानसेन १ गोर्खेकोटबाट पक्राउ गरेको छ । अवैध मदिरा ल्याउदै गरेको लु १ ज २०६१ नम्वरको जिप समेत प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । जिपमा घरेलु मदिरा बोकेर आएका मदिराधनी भने सवारी साधनमै मदिरा छाडेर फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयले जफत गरेको ३१ ग्यालेन सहित २ सय ८० लिटर घरेलु मदिरा नष्ट गरेको हो । अवैध घरेलु मदिरा ओसार पसार गरेकाले अन्तःशुल्क ऐन २०५८ दफा १६ उप दफा ४ अनुसार लु १ ज का चालक सागर हिताङ्ग लाई १५ हजार रुपैया र सवारी धनी प्रकाश हिताङ्गलाई २५ हजार गरी ४० हजार जरिवाना गरेको करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पोखरेलले बताए । प्रहरीसँग मिलेर आगामी दिन अवैध मदिरा उत्पादन क्षेत्रमा अनुगमन गर्ने कर अधिकृत पोखरेलले बताए । तानसेनमा गोर्खेकोट नाका, प्रभास बासटारी नाका, बर्तुङ्ग नाका, ढुङ्गाखानी नाकाबाट दिनहु अवैध घरेलु मदिरा भित्रिने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update