रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव स्थगन भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा यहि चैत २१ गतेदेखि २०७७ वैशाख १ गतेसम्म सञ्चालन हुने चौथो गुल्मी महोत्सव स्थगन भएको हो ।
मंगलबार पत्रकार भेटघाट कार्यक्रममा पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण प्रदेश, जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले मेला महोत्सव नगर्ने निर्णय गरेको हुँदा त्यसै अनुरुप यो महोत्सव पनि वाणिज्य संघले नगर्ने भन्दै यो महोत्सवलाई केही समय स्थगन गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । उनले पछि अनुकुल समय मिलाएर चौथो गुल्मी महोत्सव गर्ने बताए । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मुख्य नाराका साथ जिल्लामा प्रादेशिक व्यापार एवम् औद्योगिक मेला सञ्चालन गर्ने भनिएको थियो ।