Shittalpati
गाउँघरबाटै हराउन थाले ढिकी र जाँतो

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका कोल्डडाँडाकी २९ वर्षीया शान्ति सारुले दशक अघि आमा भाउजुले ढिकी र जाँतोमा अन्न कुटानी पिसानी गरेको देखिन । बिहानै भालेको डाकोसँगै अन्न कुटानी पिसानीका लागि आमा–भाउजु ढिकी र जाँतोमा नारिएको देख्दा आफु पनि अघि पछि गरेको उनी सम्झन्छिन् । जाँतो र ढिकीमा अन्न पिस्नु र कुट्नु उनको आमा र भाउजुको दिनचर्या नै थियो । अन्न कुट्न तथा फल्नको लागि उनको घरमै ढिकी र जाँतो थियो । तर अहिले आएर अवस्था फेरिएको छ । कुटानी पिसनीका लागि उनको आमाभाउजुले अहिले ढिकी जाँतो प्रयोग गर्नु परेको छैन । गाउँमै मिल भएपछि अहिले सारुको घरमा ढिकीबाट कुटेको चामल उपयोग गर्नु परेको छैन । गा्रमीण भेगमै आधुनिक मिल सञ्चालन भएपछि आम सर्वसाधारणले अहिले सहज महसुस गरेका छन् ।

गुल्मी इस्मा हस्तिचौरकी कमला मल्लाको परिवार संयुक्त रहँदासम्म ढिकीमा धान कुट्ने र जाँतोमा मकै पिसने नियमित काम नै हुने गर्दथ्यो । पछिल्लो समयमा मल्लले पनि मिलमा पिसनी कुटनी गरेको धानको चामल, मकैको पिठो प्रयोग गर्छिन् । ‘केही वर्ष अघिसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी जाँतो प्रयोग हुन्थ्यो तर अहिले परम्परागत साधन थन्किएका छन्,’ पाल्पा माथागढी देउगीरकी गंगा रायमाझीले भनिन् । डेढ दशक अघिसम्म आमा भाउजुहरुले बिहान रातीदेखि घण्टौंसम्म अन्न कुटानी पिसानीका लागि ढिकी जाँतो गर्नुपथ्र्यो, तर मिल आएपछि सजिलो भएको उनको भनाइ छ । उनले ढिकी र जाँतोमा कुटेको अन्न स्वादिलो हुने बताउँछिन् । ‘कुटानी र पिसानीका लागी मिल सञ्चालन भएपछि ढिकी जाँतो लोप हुने अवस्थामा रहेको छ,’ उनी भन्छिन् ‘कुटानी र पिसानी सहज भएकाले मिलमा धेरैको आकर्षण छ ।’ दशकअघि पाल्पा र गुल्मीका विभिन्न ठाउँहरुमा ढिकी, जाँतो र ओखल भेटिने गरे पनि अहिले प्राय: ठाउँहरुमा देखिदैनन् । गाउँ–गाउँमा विद्युत विस्तार र सडक पुगेपछि आधुनिक मेसिनहरू गाउँमा पुगेसँगै ग्रामीण भेगका परम्परागत कुटानी पिसानीको प्रयोग घट्दै गएको छ । पिठो पिस्न गाउँ–गाउँमा जाँतो र पानी घट्टको प्रयोग गरिन्थ्यो । तर अहिले आधुनिक मिलले विस्थापित गरेको छ । पिठो पिस्ने घट्ट, धान कुट्ने ढिकी, तोरी पेल्ने कोललाई अहिलेका विद्युतीय उपकरणबाट चल्ने मिलहरूले विस्थापित गरेका छन् । पहिला विवाह व्रतबन्ध र चाडपर्वमा दिन तथा रातभरि ढिकी जाँतोमा धान कुट्ने, पिठो पिस्ने हुन्थ्यो, तर अहिले त्यो हराएको छ । आधुनिक मेसिनमा कुटनी पिसानी गरेको भन्दा परम्परागत ढिकी, जाँतो र पानी घट्टामा पिसेको सस्तो र पोसिलो हुने भए पनि गाउँमा छिटो छरितो र सहजका लागि अहिले आधुनिक मेसिनमा आकर्षण बढेको छ । विशेष गरी हिउँदको समयमा महिलाहरु एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने र पिस्ने गर्दथे तर अहिले मिलमा अन्न लगेर कुटानी पिसानी गर्न थालेपछि हिउँदभरी चल्ने ढिकी जाँतो पूर्ण रुपमा बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यलय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीका अनुसार घरेलु कार्यालयमा मात्र अहिले ४२ वटा कुटानी पिसानीका मिलहरु सञ्चालनमा छन् । स्थानीय तहहरुमा भने दुई सय भन्दा बढी मिलहरु दर्ता छन् । जिल्लामा परम्परागत सामग्री लोप हुने अवस्थामा पुगेपछि सर्वसाधारण चिन्तित बनेका छन् । कुटानी र पिसानीका लागि मिलबाट सहज हुने भएकाले ढिकी जाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाई छ । परम्परागत सामग्रीबाट कुटानी पिसानी गर्न लामो समय लाग्ने र झन्झटिलो हुने हुँदा आधुनिक मेसिनको प्रयोग बढेको स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update