कृष्ण पोखरेल
पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिका भित्रका ग्रामीण क्षेत्रमा यति बेला खानेपानीको सुविधा पुगेको छ । गाउँपालिकाले खानेपानी नभएका दुर्गमदेखि सुगमका ग्रामीण क्षेत्रमा यतिबेला सहजै खानेपानीको सुविधा पुर्याएको हो । यहाँ एक ग्रागो पानीको लागि घण्टौ उकालो ओरालो बाटो हिड्नुपर्ने बाध्यता हट्दै गएको छ । पहाडी भेगबाट खानेपानीकै समस्याको कारण तराई क्षेत्रमा बसाई सराई बढ्दै गएको समयमा गाउँपालिकाले एक घर एक धारा अभियान अन्तिम चरणमा पुर्याएसँगै यहाँका अधिकांश घरहरुमा खानेपानीको सुविधा पुगेको छ । घरदैलोमा खानेपानीको सुविधा पुगेपछि स्थानीयवासीहरुमा खुसीयाली छाएको छ । यहाँका ग्रामीण क्षेत्रमा खानेपानीको सुविधा नहुँदा बसराई सराई समेत बढेर गएको थियो । अब भने बसाई सराई रोकिनेमा गाउँपालिकाले विश्वास लिएको छ । गाउँपालिकाले पहिलो प्राथमिकता दिएर प्रदेश र केन्द्र सरकारको समन्वय र सहयोगमा एक घर एक घारा अभियानलाई सफल बनाउन लागिपरेको छ ।
गाउँपालिकाभित्र अहिले ८० प्रतिशत घरधुरीमा निजी धारा जडान गरिएको छ । गाउँपालिकाले पुराना खानेपानीका योजनाहरु मर्मत गरी व्यस्थित गर्ने र डाँडाकाँडामा समेत लिफ्ट प्रविधीबाट नयाँ योजना सञ्चालन गरी घर–घरमा खानेपानी सुविधा पुर्याउँदै आएको गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताए । सरकारी निकायसँगै गोर्खा व्यलफेर ट्रस, खानेपानी सरसफाई डिभिजन कार्यालय र फनवोर्डले गाउँपालिकाको एक घर एक धारा अभियानामा सहयोग गर्दै आएका छन् । गाउँपालिका–१ सिलुवामा मस्ला· लिफ्ट खानेपानीबाट ६० घर परिवार, सानो गल्धा लोस्दी लिफ्ट खानेपानी योजनामार्फत एक सय घर परिवारमामा निजी धारा जडान भएका छन् । गाउँपालिका–२ जल्पामा मा लामे खैरेनी खानपानी योजनाबाट ८० घरपरिवार र साठीकोल लिफ्ट खानेपानी योजना ६५ घर परिवारमा धारा जडान गरी उपभोक्ताले घरदैलोमा खानेपानीको सुविधा पाएका छन् ।
गाउँपालिकाले सबै वडाहरुमा आवश्यकतामा आधारित रहेर खानेपानीको लागि बजेट विनियोजन गर्दै आएको छ । गाउँपालिका–३ रिङ्नेरहमा द्वारीगौडा खानेपानी योजनाबाट ५० घर परिवार, रोङढेङ्ग देउराली लिफ्ट खानेपानी योजनाबाट ६० घर परिवार, ताल्तुङ तामाखानी खानेपानी योजनाबाट ५० घरपरिवार र झेरुदी खानेपानी योजनाबाट ४२ घर परिवारले घर घरमै खानेपानीको धारा जडान गरी सुविधा लिएका छन् । घर घरमै खानेपानीको धारा छ, पानी भएपछि गाउँमा तरकारी खेती बढेको छ, अहिले व्यवसायिक रुपमै फर्म दर्ता गरेर तरकारी खेतीमा लागेको उपभोक्ता टेकबहादुर बाह्रघरेले बताए । अधिकाशं मगरबस्ती रहेको वडा ४ देविनगरमा देविनगर लिफ्ट खानेपानीबाट ८० घर परिवार, बेसराघा खानेपानी योजनाबाट २० घरपरिवार र केराउली लिफ्ट खानेपानी योजनाबाट ३० घर परिवारले नयाँ धारा जोडेका छन् । ३ बजे राति उठेर पानी बोक्न जानु पथ्र्यो, छोरा छोरीलाई समेत पानी बोक्न खटाउनु पथ्र्याे, अहिले घर घरमै धारा भएपछि सुखका दिन आएको बालबालिकाले पढ्न समय पाएको, अहिले त गाउँमै शहर बजार जस्तै सुविधा पाएको कुमारी घर्ती मगरले बताइन् । पालिकाले वडा ५ विरकोटमा शिखरडाँडा खानेपानी योजना ६० घर परिवार, कुर खानेपानी योजनाबाट १२ घरपरिवार, छापडाँडा खानेपानी योजनाबाट २५ घर परिवार गरी ९७ घर परिवारमा नयाँ खानेपानी धारा जडान गरिएको छ । अधिकाशं डाँडाकाँडा लेकमा रहेको वडा ६ हेक्ला·मा पनि अधिकांश घरधुरीमा खानेपानी सुविधा पुगेको छ । हेक्लाङ्गमा लाकुरी खानेपानी योजनाबाट ८० घरपरिवार, बराहदेही लिफ्ट खानेपानी योजनाबाट ५० घर परिवार र झम्राङ्ग खानेपानी योजनाबाट ५० घर परिवार गरी १ सय ८० घरपरिवारले जनप्रतिनिधि आएपछि एक घर एक धाराको सुविधा पाएका छन् । घर घरमै धारा जडान भएपछि सबैभन्दा सुख गाउँका महिलाहरुलाई भएको छ । घर– धन्दासँगै घण्टौ हिडेर पानी बोक्नुपर्ने बाध्यता हटेको छ । पानी बोक्ने समयमा अन्य काम गर्न पाएको सरसफाई बढेको, प्रशस्त पानी भएकाले घर घरमै साग सब्जी उत्पादन बढेको कुमारी बाह्रघरेले बताइन् । हाल निर्माणको क्रममा रहेका बेसारघाहा लिफ्ट खानेपानी योजनाबाट ६० घर परिवार, वडा ४ देवीनगरको पनेरदी लिफ्ट खानेपानी योजनाबाट ७० घरपरिवार वडा ६, हेक्लाङ्गको पोखन्दी लिफ्ट खानेपानी ७० घरपरिवार र चेभुङ्ग लिफ्ट खानेपानीबाट ३० घर परिवार र वडा १ सिलुवाको पोखन्दी लिफ्ट खानेपानी योजनाबाट ३ सय घर परिवारका लागि नयाँ धारा जडान हुनेछ । पालिकाले आउँदो असार मसान्त सम्ममा ९० प्रतिशत घरघुरीमा निजी धारा प्रदान गर्ने जनाएको छ ।