Shittalpati
उद्योगको मनपरी उत्खननले सुन्दर डाँडाको बिग्रदो अनुहार

रामचन्द्र रायमाझी
पाल्पा, प्राकृतिक रुपले अत्यन्त सुन्दर र अग्ला पाल्पाका डाँडाहरुको अनुहार यतिबेला कुरुप बन्दै गएको छ । पाल्पामा सञ्चालित चुनढुंगा खानी उद्योगले मनपरी उत्खनन र निकासी गर्दै आएपछि यहाँका मनमोहक, सुन्दर र अग्ला डाँडाहरुको अनुहार कुरुप बन्दै गएको हो । खानी उद्योगले सरकारले निर्धारण गरेको न्यूनतम मापदण्डको समेत पालना नगरी जथाभावी रुपमा चुनढुंगा उत्खनन गरेपछि यहाँका अधिकांश डाँडाहरुको स्वरुप नै बदलिएर समथर फाँट बन्न पुगेका छन् । मनपरी उत्खननले एकातिर वन र वातावरणको विनास भएको छ भने अर्कोतर्फ नागरिकको स्वास्थ्यमा समेत ठूलो असर परेको छ । यहाँका डाँडामा निरन्तर एक्स्काभेटरले खनेर जथाभावी चुनढुंगा निकालेपछि डाँडा सम्मिएर फाँट बनेका छन् । यहाँका दर्जनभन्दा बढी स्थानका डाँडा नाएिका छन् । निस्दी ज्यामिरेको भुटुके, माथागढीको रहवास, धामिगा तिनाउको कोलडाँडा, मस्याम, श्रीडाँडा, मरेक, सुकेताल, कचल, सर्देवा र सिद्धेश्वर लगायतका स्थानमा प्राकृतिक दोहन भएको छ ।

मनपरी चुनढुंगा उत्खनन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाका चार खानी उद्योगलाई मुद्दा दायर समेत गरेको छ । उसले गैरकानुनी र तोकिएको भन्दा बढी चुनढुंगा उत्खनन तथा दोहन गरेको आरोपमा सिद्धार्थ मिनिरल्स प्रालि, सर्वाेत्तम सिमेन्ट प्रालि, डोलामाइड चुनढुंगा प्रालि र कञ्चन क्वारिज खानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । सिद्धार्थ मिनरल्स प्रालि तिनाउ गाउँपालिका–३ श्रीडाँडाले तोकिएको परिमाणभन्दा ९ लाख ८९ हजार १ सय ३ टन बढी चुनढुंगा उत्खनन गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । सर्वोत्तम सिमेन्ट तिनाउ–१ कचल र रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरमा रहेको चुनढुंगा खानी उद्योगले अनुमतिभन्दा २ लाख ५१ हजार टन बढी उत्खनन गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै डोलोमाइट चुनढुंगा प्रालि तिनाउ–५ मस्यामले १ लाख ३५ हजार ८ सय टन डोलोमाइट अधिक उत्खनन् गरेको छ । पाल्पाकै कञ्चन क्वारिज प्रालि तिनाउ–३ मरेकले अनुमति विपरीत ९४ हजार ९ सय ८२ टन बढी चुनढुंगा उत्खनन गरेको छ । यी उद्योगहरुले वातावरणीय परीक्षण प्रतिवेदन आईईई सुझावको ठाडो उल्लंघन गरेका छन् । वातावरण संरक्षण र क्षति न्यूनिकरणका लागि वातावरणीय व्यवस्थापन योजना बनाएर काम गर्नुपर्नेमा उनीहरुले त्यसलाई लत्याएका हुन् । जथाभावी रुपमा उत्खनन गरेपछि खानी उत्खननस्थल र पहुँचमार्ग क्षेत्रमा भू–क्षय र पहिलोको उच्च जोखिम समेत बढेको छ । सिद्धार्थ मिनरल्सले तोकिएको क्षेत्रभन्दा बाहिर गएर उत्खनन् गरेको छ । खानीबाट निस्किएका वस्तु भिरालोबाट झार्दा तल रहेका बस्ती र खेतीमा हानीनोक्सानी पु¥याएको स्थानीय बलबहादुर सोमैले बताए । उनले ‘भने भलले खेतबारी र धुलो आएर हैरानी नै बनाएको छ ।’ सर्वोत्तम सिमेन्टसको चुनढुंगा उत्खनन क्षेत्र पाल्पाको तिनाउ गाउँपालिकामा कम गुणस्तरीय ढुंगा, माटोलाई जथाभावी फ्फ्याकिएको छ । डोलोमाइट र कञ्चन क्वारिजले पनि जथाभावी उत्खनन गरेका छन् । मापदण्डभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राज्यलाई राजस्व छल्ने सिद्धार्थ मिनिरल्स प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालि केही सातायता बन्द भएका छन् ।

यी दुवै खानीबाट अहिले चुनढुंगा निकासी हुन सकेको छैन । उद्योगले मापदण्ड पालना गरे नगरेको खानी तथा भूगर्भ विभाग र डिभिजन वन कार्यालयले हरेक वर्ष अनुगमन गर्दछन् । तर न्यूनतम सर्तसमेत पालना नगरेको प्रतिवेदन दिए पनि कार्यान्वय भएको छैन । पाल्पा क्षेत्रबाट दैनिक २ हजारभन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ । चुनढुंगा खानी उद्योगले उत्खनन् परिमाण थोरै बताएर हरेक वर्ष राजस्व छली गरे पनि सरोकारवाला निकाय भने मौन छन् । त्यस्ता उद्योगलाई एक–एक लाख जरिवानामात्र गरेर उन्मुक्ति दिइएको खुलेको छ । खानीका प्रतिनिधिहरु भने चुनढुंगा उत्खनन गर्दा सही ढंगले काम भएको दाबी गर्दैै आएका छन् । मापदण्ड विपरित उद्योगले उत्खनन गरेका समाचारहरु स्थानीय र राष्ट्रियस्तरका मिडियाहरुमा आएपछि त्यसको धेरै समयपछि जिल्ला प्रशासन कार्यालय पाल्पाले भने चासो देखाएको छ । उसले चुनढुंगा खानीको विषयमा उठेका सवालको सम्बोधन गर्न जिल्लास्थित राजनैतिक दलका प्रमुख र सरोकारवाला पक्षको बैठक राखेर छलफल चलाएको छ । उक्त छलफलमा जिल्लाका राजनैतिक दलका प्रमुखहरूले मापदण्ड विपरीत चुनढंगा उत्खनन् भएको हो भने कानुन अनुसार कारवाही गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update