Shittalpati
गुल्मीमा आलोपालो सेवा सुरू

गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मीले आइतबारबाट स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको छ । गत माघ ११ गते कर्मचारीमा कोरोना संक्रमण देखिएर बन्द रहेको प्रशासनले स्थानीय तहगत रुपमा आलोपालो सेवा सुरु गरेको हो । प्रशासनले सेवाग्राहीमा समेत कोरोना संक्रमणको उच्च जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको थियो । आइतवार, सोमबार रुरुक्षेत्र गाउँपालिका र सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

त्यस्तै मंगलबार, बुधबार मुसिकोट नगरपालिका, मालिका, मदाने र इस्मा गाउँपालिकाका नागरिकले सेवा पाउने छन् । बिहीबार, शुक्रबार रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, धुर्कोट र छत्रकोट गाउँपालिकाका नागरिकले सेवा पाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पालोअनुसार स्थानीय तहका नागरिकले नागरिकता सम्बन्धी सेवा लिन पाउने प्रशासनले जनाएको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी कार्य अर्को सूचना प्रकाशन नभएसम्मको लागि सुचारु नहुने प्रशासनले जनाएको छ । राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सम्बन्धी अनिवार्य बनाउनुपर्ने आवश्यकता भएमा सेवाग्राहीले आवश्यकताको कारण र आधार समेत खोली निवेदन दिएमा विवरण दर्ता गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । मतदाता नामावलीको विवरण संकलन कार्यको लागि जिल्ला निर्वाचन आयोगको कार्यालयमा सम्पर्क राख्नु सेवाग्राहीमा हुन अनुरोध गरेको छ । सेवा लिन आउदा खोप कार्ड र स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना अनिवार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रकाशित मिति: सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update