सीमा भट्टराई
पाल्पा, एक हातमा थरमस र प्युठियूमा क्यारेट बोकेर तानसेनका चोक–चोकमा दिनहुँ भेटिने गर्छिन ३५ वर्षीया कमला सारु । उनी थरमसमा चिया र क्यारेटमा चिया सहित खजाना लिएर तानसेनका चोक, पसलहरु र कार्यालयसम्म पुग्छिन् । घामपानी, जाडो र गर्मी नभनी चियासँगै मकै,ढुङ्रा लिएर उनी ‘ए नानी, भाई, सर ! चिया खानुहोस्’ भन्दै हसिलो अनुहारमा दिनहुँ देखिछिन् । उनलाई देखेर केहीले आश्चार्य मान्छन् भने केहीले उनको चिया खजना किनेर खाइदिन्छ् । उनले भने हातमा चिया बेच्दै हिडेको देख्दा केही मानिसहरु आश्चर्यमा पर्नु स्वाभाविक ठान्छिन् । उनले काम गरेर खाना केही नहुँने भन्दै काम सानो ठूलोे भन्ने नहुँने बताउँछिन् । सारु भन्छिन् ‘पसिनाको कुुनै रङ्ग र जात पनि हुुँदैन, चोरेर ढाटेर, छलेर, लुुटेर खान पो लजाउनुुपर्छ । जो जहाँ रहेर जुन काम गर्छ, ऊ त्यसैमा रमाउनुुपर्छ, गौरव तथा समर्पित भएर गर्नुपर्छ काम नै सबैको शक्ति हो, भक्ति हो र मुक्ति हो ।’ यि कुराले आफुमा नयाँ जाँगर थपेको उनी बताउन्छिन् । मेहनत गर्ने बानीको विकास भएमा आर्थिकपाार्जन गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारिक बनाउँदै आएकी चियावाली सारुले आफ्नै पौरखबाट मनग्य आम्दानी समेत गरेकी छन् । उनी बिहानदेखि साँझसम्म तानसेनका प्रत्येक ठाउँ–ठाउँमा चिया बोकेर हिड्छिन् र साँझ पकेट भरी नोट लिएर डेरा फर्किन्छिन् । उनी भन्छिन् ‘अहिले मेहनत गरेपछि केही हुँदोरहेछ भन्ने आशा पलाएको छ ।’
रम्भा गाउँपालिकाको हुमिनबाट छोरीको पढाइएका लागि तानसेनको भगवतीटोलमा बस्दै आएकी उनले चिया बेचेरै मनग्य आम्दानी गर्न सफल भएकी छन् । सारुले घरखर्चदेखि छोरीको शिक्षादिक्षामा समेत चिया बेचेरै चलाउदै आएकी छन् । सारुले आफु तामाङको छोरी र श्रीमान सारु मगर बिच १५ वर्ष अगाडि अन्तरजातीय बिवाह गरेको बताउन्छिन् । उनका श्रीमान विदेशमा छन् । छोरीको पढाइका लागि विगत एक बर्षअघि तानसेन झरेको उनले बताइन् । उनी र पाँच वर्षकी छोरी डेरामा बस्दै आएका छन् । सारुलाई अहिले साँझ बिहानको खाना र डेराको भाँडा तिर्न र छोरीको पढाइका लागि अरुसँग हात थाप्नुपर्ने अवस्था छैन । उनको साहस र पौरख देखेर उनको चियाका पारखी ग्राहकहरुले समेत सहयोग गरेका छन् । उनले पसलमा दिनभरि बस्नेहरुले मेरो चिया पिएपछि आनन्द भएको महशुस गर्दा आफुले गरेको काम राम्रो रहेछ भन्ने मनमा लाग्ने गरेको अनुभव सुनाउँछिन् । यति मेहनत र परिश्रमले यही गर्ने हो भने पैसा कमाउन विदेश जानुपर्दैन भन्ने प्रेरणा पनि आफुमा जागेको सारु भनाई छ । उनी भन्छिन्, ‘म जस्तो महिलाले क्यारेट नाम्लोमा बोकेर चिया बेचेको देख्दा अरु महिलाहरु पनि उत्साहित भएका छन् ।’
श्रीमानले भन्दा धेरै आफुले कमाउन थालेको र अहिले श्रीमान पनि आफ्नो काम प्रति खुसी भएको सारुले बताउन्छिन् । चिया बेच्ने काम शुरु गर्नुभन्दा पहिला आफुले लेवर काम गरेको र हाल आएर त्यो काम भन्दा आफ्नै काम गरेर गुजारा चलाउन सजिलो भएकाले यो पेशाप्रति आकर्षित भएको उनले एनजेडीलाई बताइन् । मुहारमा हाँसो सहित उनी एउटा किस्सा सनाउदै भन्छिन्, ‘हुस्सु परेको र जाडो मौसममा बसपार्क थरमस हातमा लिएर बसेको अवस्थामा एक जना गाडीको खलासीले कहाँ जाने हो दिदी भनी नजिक आए, महिले म कहीँ जाने होइन भाइ चिया कसैले खान्छ कि भनेर कुरिरहेको छु भने पछि उनीहरु दङ्ग परेका थिए ।’ सारुको दैनिक पाँच सयदेखि एक हजारसम्म आम्दानी हुने गरेको छ । कहिलेकाँही एक/दुई सय मात्र आम्दानी भएपनि आफु आफ्नो काममा सन्तुष्ट रहेको उनको भनाई छ ।