काठमाडौं । लघुवित्त संस्थाका लगानीकर्ता, सञ्चालक तथा अध्यक्षहरुको छाता संगठनको रुपमा लघुवित्त संघ नेपालको जन्म भएको छ । गत पुष ५ गते लघुवित्त वित्तीय संस्थाका अध्यक्षहरुको भेलाले माइक्रोफाइनान्स एशोसिएशन अफ नेपाल स्थापना गर्ने निर्णय गरे अनुरुप चौतारी लघुवित्त वित्तीय संस्था लि. वुटवलका जगत बहादुर पोखरेलको अध्यक्षतामा लघुवित्त संघ नेपालको जन्म भएको हो ।
राष्ट्र बैंकबाट स्वीकृत लिएर वित्तीय कारोबार गरिरहेका ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको एकता, नीतिगत प्रष्टता, प्रभावकारी कार्यक्रम कार्यान्वयन विधि, नियमनकारी निकायहरुसँगको नीतिगत समन्वय गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन संघको स्थापना भएको छ । समितिमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी उपाध्यक्ष, जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा महासचिव, सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ सचिव, आँधिखोला लघुवित्तमा नरेश केसी कोषाध्यक्ष तथा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरीलाई सदस्य तोकिएको छ ।
नेपाल राष्ट्र बैंकको मौद्रिक निती अनुरुप माइक्रोफाइनान्स वित्तीय संस्थाहरुको ब्यवसायीक हक अधिकार संस्थागत गर्न, लघुवित्त क्षेत्रका समस्या पहिचान गरी त्यसको निराकरण गरी लघुवित्त क्षेत्रलाई मर्यादित बनाउन लघुवित्त संघ नेपाल गठन गरिएको नवगठित अध्यक्ष पोखरेलले बताए । संस्थाको विधान अनुसार अन्य दुई सदस्यहरु संघको बोर्ड बैठकले निर्णय गर्ने नवगठित संस्थाका अध्यक्ष पोखरेलले जानकारी दिए । अहिले देशभर ९० ओटा लघुवित्त संस्थाहरु रहेका छन् । ती संस्थाहरुले देशका ७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका छन् । ती संस्थाहरुको कुल ३ हजार ८ सय ६१ शाखा, २ लाख ९८ हजार ३ सय ५९ ओटा सेवा केन्द्र, तथा १ लाख ५ हजार ५ सय ३८ ओठा समूह रहेका छन् ।