Shittalpati
रानीझैं सिँगारियो रानीमहल

कृष्ण पोखरेल
पाल्पा, पाल्पामा रहेको प्रेमको प्रतिक रानीमहल दरवारलाई रानी जस्तै सिँगाएिको छ । अहिले रानीमहलको स्वरुपलाई सुन्दर र चिटिक्क पारेर रानीझैं सिंगारिएको हो । तानसेन नगर सरकारले रानीमहल दरवार आउने पाहुनाहरु थप आकर्षित गर्न दरबारलाई चिटिक्क पारेको छ । अहिले रानीमहलमा पुग्ने पाहुनाहरुलाई तानसेन नगरपालिकाले स्वच्छ रुपमा युरो गार्डको स्वच्छ सफा फिल्टर पिउने पानी,पर्यटकका लागि महिला पुरुषहरुको फरक–फरक शौचालय, निःशुल्क वाईफाईको व्यवस्था गरेको छ । कोभिड १९ को कारण कुरुप अवस्था बनेको, वन जंगल झाँडी तथा फोहोरले भरिएको रानीमहल दरवार ३ महिनाको अवधिमा सुन्दर रानी जस्तै बनाईएको छ ।

दरवारको सबै स्थानमा पूर्ण रुपमा सरसफाई गरी चिटिक्क पारिएको छ । अहिले रानीमहलमा दैनिक रुपमा सरसफाई तथा फूल बगैचा व्यबस्थापनको लागि मालीहरु खटाईएका छन् । अबका दिनमा रानीमहललाई रातीको समयमा पनि हेर्न सकिने गरी निर्माण गरिएको छ । रानीमहलमा २४ सै घण्टा पर्यटकीय गतिविधी बढाउन तानसेन नगरपालिकाले रातीमा हेर्ने मिल्ने गरी विशेष लाईट तथा अन्य पूर्वाधारको व्यबस्था गरेको छ । कोभिडको प्रभाव न्यूनिकणसँगै पर्यटन व्यवसाय खुलाभएपछी तानसेन नगरपालिकाले प्रेमको प्रतिक रानीमहल दरवारलाई चिटिक्क पारी पर्यटनमैत्री बनाउन ३ महिने विशेष अभियान सञ्चालन गरेको हो । रानीमहल दरवार भित्र फोहोरै फोहोरले भरिएको थियो, पर्यटकको लागि शौचालय तथा खानेपानीको कुनै व्यवस्था थिएन । दरवार भित्रका रानी बस्ने कोठाहरु भताभुङ्ग थिए । तर ३ महिनाको अवधिमा रानीमहल दरवारमा नसोचेको परिवर्तन भएको स्थानीय श्रीधर गैरेले बताए । अहिले रानीमहल हेर्न दैनिक ५ सय पर्यटकहरु पुग्ने गरेका छन् । रानीमहलमा पुग्ने पर्यटकहरुलाई लक्षित गरी युरो गार्डको व्यवस्था, महिला पुरुषको लागि सफा शौचालय, फ्रि वाईफाई, पर्यटकहरुको सुरक्षाको लागि सिसि क्यामेराको व्यवस्था गरिएको रानीमहल व्यबस्थापनमा खटिएका तानसेन नगरपालिकाका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताए ।

दरवारको सबै क्षेत्रमा सरसफाई गरी नियमित सरसफाईको व्यबस्था, दरवार भित्रका मन्दिर तथा फूल बगैचाहरुको व्यवस्था, लाईटिङ्ग सहित पानी फोहोराको व्यबस्था, टाढा–टाढाबाट पनि देख्न सकिने गरी दरवारको व्यवस्थापन गरी रानीमहलको वास्तविक स्वरुप निर्माण गरिएको सरसफाई प्रमुख भण्डारीले बताए । रानीमहल पुग्ने पर्यटकहरुले अबका दिनमा दरवार भित्र राणा खड्ग शमशेर र रानी तेज कुमारी बस्ने कोठा, राणा खड्ग शमशेरको भारद्धाज सहित बैठक बस्ने कोठा, दरवार भित्र प्रयोग भएका एक सय बर्ष पुराना पुरातात्विम महत्वका सरसमानहरु खोजविन गरी संग्रहालय हेर्न पाउने गरी व्यवस्था गरिएको सरसफाई प्रमुख भण्डारीले बताए । दरवार भित्रका मन्दिरहरु पूर्ण व्यस्थित गरिएको छ । दरवार भित्र फूल, पानी फोहोर सहित बगैचाले रानीमहलको सुन्दरता बढाएको छ । रात र दिनको हेराई फरक फरक हुने भएकाले रानीमहल दरवारलाई रातीमा हेर्न मिल्ने गरी व्यबस्था गरिएको छ । रातको समयमा रानीमहल हेर्दा फरक आनन्द हुने गरेको छ । दिउँसोमा भन्दा रातीमा हेर्दा रानीमहलको फरक स्वरुप देखिएको छ । दरवारको मुख्य भाग देखी बगैचाहरु रातीमा हेर्न मिल्ने गरी लाईटहरुको व्यबस्थाले रानीमहलको सुन्दरता बढाएको रानीमहल प्रहरी चौकीका ईञ्चार्ज दधिराम कार्कीले बताए । विद्युतको सुविधा पुगे पनि भोल्टेज कमीको कारण दरवार भित्र जेनेटर चलाएर रातीको रानीमहल परीक्षण गरिएको छ । दरवारमा थ्रि फेसको विद्युतको व्यवस्था गरी सर्वसाधारणको लागि रातीमा रानीमहल हेर्ने सुविधा प्रदान गर्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताए । पुरातत्व विभागले १० बर्षको लागि रानीमहल दरवारको रेखदेख तथा संरक्षणको जिम्मा तानसेन नगरपालिकालाई दिएको छ । नेपालकै प्रम्ख पर्यटकीय गन्तव्य रानीमहल दरवारलाई सुन्दर आर्कषक र पर्यटनमैत्री बनाउन आवश्यक पर्यटक पूर्वाधारहरुको निर्माण गरी पर्यटकीय गतिविधी बढाउन नगरपालिकाले ३ महिने विशेष अभियान सञ्चालन गरी रातदिन काममा खटिएर स्वरुप नै बदलिएको नगर प्रमुख शाहीले बताए । प्रेमको प्रतिक रानीमहल दरवार राणा खड्ग शमशेरले रानी तेजकुमारीको संम्झनामा विस १९५४मा निर्माण गरेका थिए ।

उत्तरवाहिनी भएको कालीगण्डकीको किनाराको ढुङ्गा माथी रानीमहल दरवारको निर्माण गरिएको छ । कालीगण्डकीको उत्तरवाहिनी क्षेत्रमा निर्माण गरिएको रानीमहल क्षेत्र धार्मिक हिसावले पवित्र मानिन्छ । २४ रोपनी क्षेत्रफलमा फैलिएको रानीमहल दरवार परिसर भित्रै राजदरवारमा हुने सबै किसिमिका संरचनाहरु निर्माण गरिएका छन् । तानसेनबाट रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले स्तरोन्नती गरी पिचको काम गर्दै आएको छ । अहिले तानसेनबाट सवारी साधनमा आधा घण्टामा रानीमहल दरवार पुग्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update