Shittalpati
रोकिएन अवैध रूपमा बालुवा चोरी निकासी

पाल्पा, जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्ला महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ । स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैध रूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ ।

जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले तीन ट्याक्टरलाई अवैध रूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो । रामपुर नगरपालिका–१ छम्केस्थित निस्दी खोलाबाट अवैध रूपमा गिट्टी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । निस्दी गाउँपालिका–१ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैध रूपमा थुपारेर राखी गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नम्बरको ट्याक्टरलाई पनि प्रहरीले नियन्त्रण लिएको थियो । दुवै ट्याक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्याक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । रामपुर नगरपालिका–१० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैध रूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । नम्बर नखुलेको सो ट्याक्टरका चालकलाई हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उनको भनाइ थियो । अवैध रूपमा गिट्टी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेको छैनन् । कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि सरकारी संरचना निर्माणमा समेत जथाभावी रूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ । –रासस

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update