कृष्ण पोखरेल
पाल्पा, तिनाउ गाउँपालिको वडा २ दोभान सरसफाई उन्मूख वडा घोषणा भएको छ । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती मगरले वडा २ दोभानलाई सरसफाई उन्मूख वडा घोषणा गरेकी छिन् ।
घोषणा सभामा मन्त्री घर्ती मगरले राम्रो पालिकाको पहिचानको लागि बालमैत्री, महिलामैत्री र ज्येष्ठ नागरिक मैत्री अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । यी सूचकहरु पूरा गर्नको लागि प्रदेश सरकार मन्त्रालयले पालिकाहरुलाई आवश्यक सहयोग गर्ने मन्त्री घर्तीले बताइन् । सरकारले खुला दिशामुक्त पालिकाहरुलाई पूर्ण सरसफाई उन्मूख अभियान चलाएको छ । दुई वर्षको निरन्तर अभियान पछि तिनाउ गाउँपालिको वडा २ दोभानलाई पालिकाकै पहिलोे सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । अष्ट्रियन रेडक्रसको आर्थिक सहयोगमा विगत दुई वर्षदेखि नेपाल रेडक्रस शोसाइटी पाल्पाले तिनाउ गाउँपालिकासँग मिलेर पूर्ण सरससफाई उन्मुख कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पूर्ण सरसफाई उन्मुख घोषणा कार्यक्रमको लागि तोकिएका ६ वटा सूचक पार गरेपछि वडा २ दोभानलाई गाउँपालिकाकै पहिलो सरसफाई उन्मूख वडा घोषणा गरिएको हो । नेपाल रेडक्रस शोसाईटी पाल्पाले सन् २०१९ जनवरीदेखि २०२१ डिसेम्वर सम्म आई वास कार्यक्रम सञ्चालन गरी सिङ्गो वडालाई सरसफाई उन्मूख वडा बनाएको हो । दोभानको ७ सय ३४ घर परिवारका ३ हजार ९ सय ४ जना जनसंख्या पूर्ण सरसफाई उन्मूख भएका छन् । सबैका घरमा सुरक्षित तथा व्यवस्थित शौचालय, एक घर एक धारा, जुठ्यानको व्यवस्थापन, वातावरणीय तथा घरयासी सरसफाई, प्रत्येक घरपरिवारका किचनदेखि शौचालयसम्म साबुनपानीको प्रयोग, पानी उमालेर तथा शुद्धिकरण गरेर पिउने बानीको विकास टोल, बाटो, घाटोमा नियमित सरसफाई जस्ता अभियानका सूचकहरु पूरा गरेपछि दोभान वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो । पूर्ण सरसफाई उन्मूख वडा कार्यक्रमको लागि पाल्पा रेडक्रसले खानेपानी सुविधा नभएका टोलबस्तीमा एक घर एक धारा, व्यस्थित सफा शौचालय निर्माणको लागि आर्थिक सहयोग, टोल–टोलमा सरसफाई अभियानकर्मीहरुको परिचालन, कोभिड रोग विरुद्ध लड्न माक्स, सेनिटाइजर सहयोग तथा जनचेतना, कोभिडबाट पीडित भएका दिर्घरोगी तथा वृद्धवृद्धाको लागि नगद सहयोग, न्यून आयश्रोत भएका व्यक्तिहरुलाई बाख्रा, बंगुर तथा कुखुरापालनको लागि आर्थिक सहयोग गरेको वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम कार्कीले बताए । वरिष्ठ अधिकृत कार्कीले रेडक्रस पाल्पाले २ वर्ष गरेको काम गतिविधि सार्वजनिक गरेका थिए । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले पूर्ण सरसफाई उन्मूख वडाको लागि ९ बुदे प्रतिवद्धता गरेका छन् । गाउँपालिकाका अन्य ५ वटा वडाहरुमा यस आर्थिक वर्षभित्र पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरी सिङ्गो गाउँपालिकालाई सरसफाई उन्मूख गाउँपालिका घोषणा गरिने अध्यक्ष घर्ती मगरले बताए । उनले गाउँपालिका र रेडक्रस दुवै मिलेर यो अभियानलाई सफल बनाउन सकिएको बताए । घोषणा कार्यक्रममा प्रदेश सांसद तुलाराम घर्ती मगरले पहिलो रुपमा मानिसको मन मष्तिस्क सफा भएमा पूर्ण सरसफाई उन्मूख जस्ता अन्य अभियानहरु पनि पूर्णरुपमा सफल हुने बताए । किचन र शौचालय पूर्ण रुपमा सफा भएमा मानिसलाई अधिकांश रोगहरु नलाग्ने प्रदेश सांसद घर्ती मगरले बताए । कार्यक्रममा नेपाल रेडक्रस शोसाइटी पाल्पाका सभापती बुद्धिप्रसाद शर्माले यो अभियानलाई सफल बनाउन गाउँकै दाजुभाई, दिदीबहिनी सक्रिय भएको बताए । रेडक्रस र पालिकाले चलाएको पूर्ण सरसफाई अभियानलाई गाउँ नागरिकको पूर्ण सहयोगबाटै सरसफाई उन्मूख वडा घोषणा गरिएको सभापती शर्माले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले वडा २ दोभानको पूर्ण सरसफाई उन्मुख वडा घोषणाले अन्य ५ वटा वडाहरुलाई घोषणा कार्यक्रमको लागि सहयोग पुग्ने बताए । नेपाल रेडक्रस पाल्पाका कोषाध्यक्ष भिमसेन कार्कीले कार्यक्रम लागु गर्दा कमजोर सूचकहरु रहेपनि दुई वर्षको अवधीमा उल्लेखनीय सुधार भएको बताए । कार्यक्रममा वडा १ का अध्यक्ष रोमबहादुर लम्तरी, रेडक्रस पाल्पाका उपमन्त्री केशव नेपाल, तिनाउ रेडक्रस उपशाखाका अध्यक्ष अमर प्रधान, दोभान माध्यमिक विद्यालयका प्रद्यानाध्यापक सूर्यप्रसाद पौडेल, झ्याङ्ला खानेपानी समितिका अध्यक्ष अञ्जना थापा लगायतले पूर्ण सरसफाई उन्मूख कार्यक्रमले जनतामा स्वास्थ्य सचेतना बढेको, झाडा पखला जस्ता पानीजन्य रोगहरुमा कमी आएको बताए । रेडक्रस पाल्पाले सरसफाई उन्मुख वडा निर्माण तथा कोभिड सचेत तथा उपचारको लागि वडा २ दोभान र वडा १ कचलमा २ करोड रुपैयाँको परियोजना सञ्चालन गरेको लेखापाल सुवास तामाङले बताए । वडा २ दोभानका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिलु योन्जनको स्वागत कार्यपालिका सदस्य रितु श्रेष्ठको सञ्चालनमा भएको थियो । घोषणा सभामा गाउँ–गाउँबाट आएका विभिन्न समूह नागरिकहरुले ब्यानर सहित दोभान बजारमा र्याली निकाली सचेतना जगाएका थिए ।