पाल्पा, जिल्ला निर्वाचन कार्यालय पाल्पाले यही मसिंर १७ गते शुक्रबारदेखि जिल्लाका दशवटै पालिकामा फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन कार्यालयले मसिंर १७ देखि २६ गतेसम्म पहिलो चरणमा र मंसिर २८ देखि पुस ८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गर्न लागेको हो ।
पहिलो चरणमा रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा निस्दी, रम्भा, तिनाउ र बगनासकाली गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ । दोस्रो चरणको मतदाता नामावली संकलनको कार्य मंसिर २८ देखि पुस ८ गतेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय रहेको पालिकाको हकमा भने टोली नखटाई नियमित रुपमा दुई कार्यालयबाटै नामावली संकलन गरिने देशव्यापी व्यवस्था निर्वाचन आयोगले गरेकाले तानसेन नगरपालिकामा टोली नखटाइने तर दुई वटै कार्यालयबाट नामावली संकलन भने गरिने निर्वाचन अधिकारी अर्यालले जानकारी दिए । आफ्नो पालिकाको केन्द्रमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिएर मतदाता नामावलीमा मतदाताले विवरण भर्न सक्ने उनले बताए ।
यस्तै बसाईसराईको कागजपत्र र विवाह दर्ताको प्रमाणपत्रको आधारमा पनि मतदाता नामावली अद्यावधिक गर्न सकिनेछ । कार्यालयबाट नियमित रुपमा हुँदै आएको फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई पनि जारी राख्दै पालिकामा स्थानीयस्तरमै टोली खटाएर नामावली संकलन गरिने भएको छ । शुक्रबार हुने मतदाता नामावली संकलन कार्यकालागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन कार्यालयले जनाएको छ । सबै पालिकामा दर्ता कर्मचारी आजै पुग्ने छन् । उनीहरुका लागि आवश्यक सामग्री पठाईसकिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकारी अर्यालले जानकारी दिए ।