
पाल्पा, मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि देखिएको छ । यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधनहरू चल्न सकेका छैनन् । सार्वजनिक गाडीहरू नचल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् ।
मंगलबार बिहानैदेखि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दूरीका गाडीहरू चल्न सकेका छैनन् । विशेष गरी गाउँबाट बुटवल जान हिडेका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । जिल्लाको बसपार्क, बर्तुङ्ग, नारायणस्थान, प्रभास, बाँसटारीलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् । गाडीहरु कुर्नेहरुमा बुटवलमा सञ्चालन भइरहेको बन रक्षकको परीक्षा दिने परीक्षार्थीहरु समेत रहेका छन् । उनीहरु आज सञ्चालित परीक्षा छुट्ने भन्दै बन्द कर्ताहरुप्रति आक्रोस व्यक्त गरेका छन् ।
यहाँबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । तानसेनमा निजी कार र मोटरसाइकलहरू भने छिट्टाफुट्ट रुपमा चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् । जिल्लाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ । बन्दको क्रममा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बन्दका कारण शैक्षिक संघसंस्था, पसलहरु समेत पूर्ण रुपमा ठप्प रहेका छन् । बन्दमा अत्यावश्यक सवारी साधान भने चलेका छन् । बन्द बिहान ६ बजेदेखी साँझ ५ बजेसम्म हुने जनाइएको छ । बन्द सफल बनाउन नेकपा माओवादीले सोमबार साँझ तानसेनमा मसाल जुलुस समेत निकालेका थिए ।
