Shittalpati
महिलाले २० रुपैयाँबाट चलाएको सहकारीको कारोबार करोडौं

रमेश विश्वकर्मा

गुल्मी, कुनै बेला महिलाहरुले सहकारी सञ्चालन गर्छौं भन्दा पत्याउँदैन्थे । पैसाको लागि पुरुषको भर पर्नुपथ्यो । तर अहिले २० रुपैयाँबाट महिलाहरुले समूह गठन गरी स्थापना गरेको गुल्मीको एक सहकारीले अहिले करोडौंको कारोबार गर्न सफल भएको छ । २० रुपैयाँबाट कारोबार सुरु गरेको स्वावलम्बन महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अहिले २९ औं साधारण सभा मनाएको छ । ‘२० रुपैयाँ उठाउन पनि महिला दिदिबहिनीहरु धौं–धौं मान्नुहुन्थ्यो । तर अहिले यहि सहकारी करोडौंको कारोबार गर्ने अवस्थामा पुगेको छ ।’ सभाको अवसरमा संस्थाका संस्थापक अध्यक्ष कुस्मा थापाले भनिन् । अहिले महिलाहरुले पनि अवसर पाए हरेक क्षेत्रमा अब्बल सावित हुँदै गएको थापाको बुझाई छ । १७ वर्षसम्म सहकारीको नेतृत्व समालेकी थापाले सुरुवाती दिनहरुलाई स्मरण गर्दै भनिन्,‘हिजो सहकारी खोल्दा तिमिहरुले सञ्चालन गर्न सक्दैनौं अर्को सहकारीमा गाभौं पनि भने, तर मैले मानिन् । पैसाकै लागि सधै भरी किन पुरुषसँग हात थाप्ने ?’ महिलाहरुले सञ्चालन गरेको संस्था सफल सावित हुँदै गएको थापाको दाबी रहेको छ ।

यो सहकारीलाई २०६० सालमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट महिला सहकारीको रुपमा पुरस्कृत समेत गरेको छ । २०४८ सालमा साविक तम्घास, अर्खले, सिमिचौर र दुबीचौरका १६ जना महिला दिदिबहिनीहरु संगठित गरी समुह गठन गरिएको थियो । उनीहरुलाई सहकारीको माध्यमबाट सशक्तीकरण गर्ने उद्देश्यले २०५० साल माघ २५ गते डिभिजन सहकारी कार्यालय पाल्पामा विधिवत रुपमा २५ जना सदस्यबाट दर्ता गरी यस सहकारीको स्थापना गरिएको थियो । २० रुपैयाँबाट शुरु गरिएको यो सहकारीले अहिले १० करोड ५० लाखभन्दा बढी बचत गर्न सफल भएको सहकारीकी अध्यक्ष बिमला गौतमद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीको चुक्ता शेयर पूँजी १ करोड १२ लाख ३७ हजार ३ सय रहेको छ । चालु आर्थिक वर्षसम्मको ऋण लगानी १० करोड ५८ लाख १४ हजार ६ सय ४० रुपैयाँ रहेको छ । संस्थाले १ करोड ६८ लाख ८७ हजार ७ सय ८८ रुपैयाँ लगानी गरेको छ । चालु आर्थिक वर्षसम्मको जम्मा बचत १० करोड ५० लाख ९३ हजार ९ सय १३ रुपैयाँ रहेको छ । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा २० करोड ७२ लाख ९८ हजार १० रुपैयाँ बराबरको कारोबार गरेको छ । अहिले यस सहकारीमा १ हजार ११ जना सेयर सदस्य र ३ सय ९२ जना नाबालक गरी १४ सय ३ जना सदस्य रहेका छन् । सहकारीले विभिन्न कोष समेत स्थापना गरेको छ । जसमा ७० वर्ष पुगेपछि सेयर सदस्यहरुले मासिक रुपमा वृद्धाभत्ता समेत पाउँछन् । सेयर सदस्यको मृत्युमा आर्थिक सहयोग, दैविकप्रकोपमा पर्ने सेयर सदस्य आर्थिक सहयोग, स्वास्थ्य कोष पनि स्थापना गरिएको छ भने सुत्केरी भत्ता समेत वितरण गर्दै आएको छ । जसमा १२ जना महिलाले यो सुविधा लिएका छन् ।

अहिले सहकारीले आर्थिक संकटमा परेका सदस्यहरुलाई आफ्नै सल्लाहमा नीति नियम बनाई आयमूलक व्यवसायमा लगानी पनि गर्दै आएको छ । यसरी लगानी गरिएको रकम सही सदुपयोग गरी विभिन्न व्यवसाय गर्ने सेयर सदस्यहरुलाई सम्मान समेत गर्दै आइरहेको छ । सोही अनुसार उत्कृष्ट ऋणि मिना घर्ति मगर, उत्कृष्ट उद्यमी पार्वती अधिकारी र उत्कृष्ट कृषि तर्फ सिता कुँवर र पशुपालनतर्फ अजिता पाण्डे सम्मानित भएका छन् । संस्थाले विभिन्न सेयर सदस्यका सन्ततीहरुलाई पनि शैक्षिक उपलब्धिका आधारमा पुरस्कृत गर्दै आएको छ । शैक्षिक सत्र २०७६ मा सामुदायिक विद्यालयबाट एस.इई परीक्षमा सर्वोकृष्ट अङ्क ल्याउने निकेशजङ्ग कुँवर, तथा संस्थागत विद्यालयबाट सर्वोकृष्ट अङ्क ल्याउने पवन विक्रम कुँवरलाई सम्मान गरिएको थियो । यस्तै शैक्षिक सत्र २०७७ मा एस.इ.ई. परीक्षामा सर्वोकृष्ट अंङ्क ल्याउने एलिसा शर्मा र संस्थागत विद्यालयबाट सर्वोकृष्ट अंक ल्याउने मेघा पौडेल सम्मानित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update