पाल्पा, पाल्पा र गुल्मीमा ७ सय ९० गणक परिचालन गरिएको छ । बिहीबारदेखि सञ्चालन भएको १२ औँ राष्ट्रिय जनगणनाका लागि दुई जिल्लामा ७ सय ९० गणक परिचालन गरिएको हो ।
कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि पाल्पाका १० वटै स्थानीय तहमा ३ सय ७८ गणक परिचालन गरिएको छ । उता गुल्मीका १२ स्थानीय तहमा ४ सय १२ गणक परिचालन गरिएको जिल्ला जनगणना कार्यालय गुल्मीले जनाएको छ । यस्तै जनगणनाका लागि पाल्पा र गुल्मीमा १ सय ९५ जना सुपरिवेक्षक खटिएका छन् । जस अन्तर्गत पाल्पामा ९४ जना र गुल्मीमा १ सय १ जना खटिएका हुन् । उनीहरुले बिहीबारदेखि नै काम सुरु गरेका छन् । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्ने छन् । पाल्पामा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको निवास प्रशासनबाट तथ्यांक लिएर राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरिएको हो । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पन्तले सबै जिल्लावासीले सत्यतथ्य सूचना दिएर महाअभियानलाई सफल बनाउन जिल्लाबासीलाई अनुरोध गरेका छन् । तानसेन, रामपुर, छहरा र ताहुँमा कार्यालय स्थापना गरि काम थालिएको जिल्ला जनगणना कार्यालय पाल्पाले जनाएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लागेको बताइएको छ ।
यस क्रममा देशभरका छ हजार ७ सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने जनाइएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छरु। नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा संघीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो ।