इमान सिं राना
पाल्पा (रामपुर) । जिल्लाको रामपुरमा सञ्चालित तीन दिने मुल्य अभिवृद्धि तथा व्यवसाय कर सम्बन्धी तालिम सकिएको छ । रामपुर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई कर शिक्षासंगै भुक्तानी गर्ने प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले सञ्चालन भएको तालिमको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको आर्थिक सहयोग र करदाता सेवा कार्यालय पाल्पा, एनविएसएम एण्ड एसोसियट्स नक्साल काठमाडौंको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको थियो । तालिमको समापनसंगै सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले इमान्दारिता, लगनशिलता र मेहेनतका साथ गरिएको कुनै पनि पेशामा नोक्सान नहुने बताए । उनले नकारात्मक सोंचले प्रगतिमा बाधा उत्पन्न हुने बताउँदै नियमसँग आफ्नो लेखालाई दुरुस्त राख्न सकेमा व्यवसाय वृद्धि हुने बताए । उनले आर्थिक विकासले मात्रै नगरको विकास सम्भव रहेको बताउँदै उनले व्यवसाय गर्न चाहने युवाहरुलाई १२ लाखसम्म ऋण अनुदान दिन सुरु गरेको जानकारी दिए । रामपुर नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले तालिममा सिकेका व्यवसाय सञ्चालनसँग सम्बन्धित ज्ञान व्यवहारमा लागु गर्न सके मात्र तालिमले सार्थकता प्राप्त गर्ने बताए । उनले कुनै पनि क्षेत्रको विकासका लागि कारोवारमा पनि वृद्धि हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले कर सम्बन्धी ज्ञान नहुँदा अरुको भर पर्नु परेकाले त्यसबाट आउन सक्ने समस्या समाधानका लागि तालिम सञ्चालन गरिएको बताए । ६२ जना भन्दा बढी सहभागी रहेको तालिममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, करदाता सेवा कार्यालयका कर अधिकृत सागर पोखरेल, चार्टर एकाउण्टेन कृष्णप्रसाद शर्मा र रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावलीले सहजिकरण गरेका थिए । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालको अध्यक्षता, उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागत र महासचिव खिमबहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो ।