Shittalpati
बन्द गरिएको गुफाको द्वार खुल्ला गरियो

इमान सिं राना
पाल्पा (रामपुर) । रामपुर ५ को पवित्र धार्मिक स्थल रामघाट नजिकैको भुलादी खोला भुद्र·घाट वरपर सप्त गुफा रहेको स्थानीयहरुले बताउँदै आएका थिए । तर ६ वटा गुफाको बारेमा अवगत भएपनि १ वटा गुफाको भने गुमनाम जस्तै थियो ।
भगवान रामचन्द्र वनबासका बेला रामघाट आएको बेला उनका गुरु वशिष्ट ऋषिले बास बसेको स्थान वशिष्ट गुफा (चमेरा गुफा), विश्राम गुफा, कौशिक गुफा, हनुमान गुफा, बाँदर गुफा र दुम्सी गुफाहरुको बारेमा धेरैलाई थाहा थियो ।

स्थानीयहरुले त्यही नजिकै रहेको एउटा द्वारबाट पसेर अन्यत्र निस्कन सक्ने बताउँदै आएपनि कोही पस्ने हिम्मत गरेका थिएनन् । तर रामपुर ४ जलदेवीका भोजबहादुर कुमाल र झलक कुमाल दुम्सीको ढाँड खेज्दै जाने क्रममा भोजबहादुर टर्च लाईटको सहयोगमा दुम्सीको पाईला पछ्याउँदै त्यहि द्वारबाट पसे । उनी भित्र पसेपछि थाहा भयो भित्र फराकिलो ठाउँ र विभिन्न आकृतिको विशाल गुफा छ भन्ने । २०७५ को वैशाखमा भोजबहादुरले गुफा भित्रको बारेमा जब सुनाए, त्यसपछि हेर्न जाने स्थानीयहरुको ओइरो लाग्यो । भित्र जाने बाटो साँगुरो भएकाले निकै मुस्कीलले छिर्नु पथ्र्यो । दैनिक सयौंको संख्यामा पुग्न थाले पछि स्थानीय प्रशासनले बिना अध्ययन भित्र छिर्नु सुरक्षाको हिसावले बन्द गर्न निर्देशन दियो । नगरपालिकाले पनि विज्ञहरुको अनुसन्धान पश्चात मात्र खुल्ला गर्ने बताएको थियो । तर अनुसन्धानको काम भने अघि बढ्न सकेन । अन्ततः स्थानीयको आग्रह पछि नगरपालिकाले थप अध्ययनसंगै क्षेत्रको सम्भावनाको खोजीका लागि बन्द गरेको गुफाको द्वार खुल्ला गरेको छ । सर्वसाधारणका लागि नभई गुफाको अध्ययन गर्न सहज होस् भन्ने हेतुले नगरपालिकाले भित्र जाने बाटो खुल्ला गरेको हो ।

नगरपालिकाले चासो देखाए संगै स्थानीयहरु समेत हर्षित भएका छन् । लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बन्द भएको गुफा नगरले खुलाउने प्रयास गरेसंगै स्थानीय उत्साहित भएको बताए । उनले भने, ‘पछि अध्ययन गरेर खुल्ला गर्ने त भनियो । तर प्रक्रिया अघि नबढ्दा स्थानीयहरु त्यस क्षेत्र ओझेल मै पर्छ की भनेर चिन्तित थिए ।’ रेग्मीले स्थानीयहरुको आग्रह पछि नगरले चासो देखाएकाले अब प्रक्रिया अघि बढ्नेमा आशा जागेको बताए । उनले पुराणमा उल्लेख भए अनुसार वशिष्ट ऋषिले रामघाट क्षेत्रमा तपस्यासंगै स्नान गर्ने र त्यही क्षेत्रको वशिष्ट गुफामा बास बसेको बताए । रेग्मीले सप्त गुफा मध्ये वशिष्ट, विश्राम, कौशिक, हनुमान, बाँदर र दुम्सी गुफा पहिचान भएपनि गत वर्ष भेटिएको गुफाको बारेमा केही थाहा नभएको बताए । हाल त्यस गुफालाई गुप्तबास गुफाको नाम दिइएको छ । स्थानीय ७५ वर्षिय कृतिनाथ रेग्मीले वशिष्ट गुफा भित्रबाट पसेर २ सय मिटर माथि खेतमा निस्केको अनुभव सुनाए । उनले त्यस क्षेत्रमा ठूला गुफाहरु रहेको बताए । २०७५ को वैशाखमा भेटिएको गुफाको १ सय मिटर बढी लम्बाई रहेको छ । त्यहाँ भित्र चुनबाट बनेका विभिन्न आकृतिहरु छन् । साथै कलकल बगेको पानीको दुश्य र चम्कने चुनबाट बनेका आकृतिले थप आकर्षणको रुपमा रहेको छ । जहाँ हजारौ मानिस अट्न सक्छन् । रामपुर नगरपालिका ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले गत वर्ष गुफा हेर्न जाने स्थानीयको भिड लागेको र सुरक्षाको हिसाबले बन्द गर्न बाध्य भएको बताए । उनले पहिले भित्र जान मुस्कील हुने गरेकामा नगरपालिकाको प्रयासपछि अहिले भित्र जाने बाटो सहज बनाएको बताए । गुफामा अहिले गेट निर्माण गरी ताला लगाउने व्यवस्था गरिएको छ ।

गुफाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, वडा ४ का वडा अध्यक्ष एकबहादुर नेपाली, वडा ५ का वडा अध्यक्ष हिमाल मल्ल सहितका स्थानीय तथा सरोकारवालाहरुले पनि भित्र पसेरै अवलोकन गरेका थिए । अवलोकन पश्चात नगर प्रमुख थापाले रामपुर आफैमा धार्मिक एवं ऐतिहासिक स्थल रहेकाले गुफाले थप आकर्षण थप्ने बताए । उनले त्यहाँ रहेका आकृति अलौकिक रहेको भन्दै तत्काल गुफाको भौगोलिक बनावटको बारेमा अध्ययन गराएर मात्र खुल्ला गरिने बताए । थापाले भने, ‘नगरपालिकाले यसको संरक्षण र प्रवद्र्धनको लागि पहल गर्नेछ । यहाँको प्राकृतिक संरचना आफैमा भिन्न किसिमको छ । यो पौराणिक महत्वसंग पनि जोडिएकाले नगरले पहल गर्ने छ ।’ त्यस क्षेत्रमा रहेको सप्त गुफा जान रामपुर नगरपालिका ४ ले केही वर्षअघि सिंढी निर्माण अघि बढाएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update