Shittalpati
बगनासकालीका युवाले लिए विपद् प्रतिकार्य तालिम

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकाका युवाहरुले सामुदायिक विपद् प्रतिकार्य तालिम लिएका छन् । समुदायमा विपद्का लागि पूर्वतयारी रहने र विपद् परिहाले त्यसलाई समधान गर्नका लागि गाउँपालिका भित्रका ९ वटा वडाका २४ जना युवायुवतीले विपद् प्रतिकार्य तालिम लिएका हुन् ।

गाउँपालिकाले स्थानीय तहमा भइपरी आउने विपद् व्यवस्थापनका लागि दक्ष र सीपमूलक जनशक्ति उत्पादनका लागि नेपाली सेना गोरखदल गणको संयोजनमा चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम दिएको हो । पछिल्लो समय प्राकृतिक विपद् अन्तर्गत आगालागी, भूकम्प,बाढीपहिरो जस्ता जोखिमबाट बच्नका लागि गाउँपालिकाले विपद् व्यवस्थापनका कार्यक्रमहरुलाई अगाडि बढाउदै आएको छ । सोही क्रममा गाउँपालिकाले गाउँपालिका भित्रका केही युवाहरुलाई छनोट गरी तालिम दिएको हो । गत मंगलबारदेखि सुरु भएको तालिमको एक कार्यक्रमका बीच शुक्रबार समापन गरिएको छ । समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्राकृतिक विपद्बाट बच्नका लागि पूर्व तयारी अपनाउन गाउँपालिकाका ९ वटै वडाका व्यक्तिहरुलाई नेपाली सेनाको सहयोगमा तालिम दिइएको बताए । उनले विपद्बाट हुने जोखिमका लागि पूर्वसर्तकता र समस्या परी हाले समधानका उपाय खोज्नका लागि तालिम महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । अध्यक्ष बस्यालले भने ‘हामी नेपाली काम भन्दा पनि कुरा बढी गर्नेहुँदा विकासले गति लिन नसकेको भन्दै नेपाली सेना कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सेनाले दिएको तालिमले कुरालाई भन्दा कामलाई प्रथमिकता दिनुपर्छ भन्ने विषयले आफुहरुलाई थप प्रेरणा मिलेको छ ।’ उनले सेनाको कामलाई अनसरण गरेर आफुहरु अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

गाउँपालिकाले विपद् व्यवस्थापनका लागि कुल बजेटको १२ प्रतिशत जति रकम विनियोजन गरी काम गरेको अध्यक्ष बस्यालले जानकारी दिए । उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले विपद् व्यवस्थापनका लागि सिमित स्रोत र साधन भएकाले त्यसलाई थप वृद्धि गर्दै लैजानका लागि केही युवाहरुलाई तालिम दिइएको बताईन् । उनले आगामी दिनमा गाउँपालिकाले कार्यक्रम तथा योजना निर्माण गरी विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्रीको व्यवस्था गर्ने बताईन ।

कार्यक्रममा नेपाली सेना गोरखदल गणका गणपति प्रमुख सेनानी जनककुमार बस्नेतले नेपाली सेना र नागरिक बीचको सम्बन्धलाई थप निकट बनाउन र विपद्बाट हुन सक्ने जोखिम बहनका लागि तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले तालिममा सिकेका कुराहरुलाई अन्य युवाहरुमा समेत सिकाउन सके सक्षम र योग्य जनशक्ति उत्पादन गर्न सकिने बताए । नेपाली सेनाले स्थानीय सरकारहरुसँग समन्व गर्दै जिल्लाका स्थानीय दशैं वटा स्थानीय तहहरुमा विपद् प्रतिकार्य तालिम सञ्चालन गर्दै आएको छ । तालिममा अग्नि नियन्त्रण, भग्नावेशमा पुरिएका व्यक्तिको उद्दार, पानीमा डुबेका रबगेका व्यक्तिको उद्दार तथा प्राथामिक उपचार, भूकम्पजस्ता सैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिइएको गणका सेनानी मनोज डंगोलले जानकारी दिए । तालिममा सहभागी मीनबहादुर रानाले तालिम निकै नै फलदायी रहेको बताए । उनले तालिमले विपद्बाट जोखिम बहन गर्नका लागि महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update