पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली सेनाको विपद् प्रतिकार्य तालिम सुरु भएको छ । नेपाली सेना गोरखदल गणको संयोजन र गाउँपालिकाको आयोजनामा चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम मंगलबारदेखि सुरु भएको हो ।
तालिमको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्राकृतिक विपद्बाट बच्नका लागि पूर्व तयारी अपनाउन गाउँपालिकाका ९ वटै वडाका व्यक्तिहरुलाई तालिम दिन थालिएको बताए । उनले नेपाली सेनाले गाउँमै पुगेर प्रदान गरेको विपद् प्रतिकार्य तालिमले धनजनको क्षति कम हुने विश्वास व्यक्त गरे । गाउँपालिकाले बजेट नै विनियोजन गरी सामुदायिक विपद् प्रतिकार्य तालिम दिन लागेको जनाएको छ ।
नेपाली सेना गोरखदल गणका गणपति प्रमुख सेनानी जनककुमार बस्नेतले समाजमा भइपरी आउने दैविक प्रकोपका लागि पूर्व तयारी आवश्यक रहेकाले जिल्लाका दशैं वटा स्थानीय तहहरुमा तालिम सञ्चालन गर्दै आएको बताए । आगामी दिनहरुमा पनि स्थानीय सरकारसँगको सहकार्यमा यस्ता किसिमका तालिमहरुलाई निरन्तरता दिर्दै जाने धारणा व्यक्त गरे । तालिमले स्थानीयहरुमा आत्मविश्वास पैदा हुनुको साथै विपद्को समयमा अमूल्य जीवन जोगाउन सार्थक हुने प्रमुख सेनानी बस्नेतले बताए । तालिम अवधिभर अग्नि नियन्त्रण, भग्नावेशमा पुरिएका व्यक्तिको उद्दार, पानीमा डुबेका र बगेका व्यक्तिको उद्दार तथा प्राथामिक उपचार लगायतका सैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा तालिम दिइने गणका सेनानी मनोज डंगोलले बताए ।
पछिल्लो समय नेपाली सेना गोरखदल गणले सामुदायिक विपद् प्रतिकार्य तालिममा सक्रियता देखाउँदै आएको छ । गणले हुन सक्ने प्राकृतिक विपद्बाट बच्नका लागि आवश्यक उद्दारकर्ता तयार पार्ने गरी जिल्लाका स्थानीय तहहरुमा तालिम सञ्चालन गर्दै आएको हो । तालिममा २४ जना स्थानीयहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष सरस्वती चिदीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।