रामचन्द्र रायमाझी
पाल्पा, रैनादेवी छहराबाट आई तानसेनको मखन टोलमा होटेल सञ्चालन गर्दै आएका दिनेश कुंवरले गाउँमै सरकारी कामकाज हुन थालेपछि व्यापारमा ३ वर्षअघि जस्तो मुनाफा नभएको बताएका छन् । ‘३ वर्षअघि दैनिक खाना खाने २५/३० जना हुन्थे । अहिले मुस्किलले ४÷५ जना मात्रै हुन्छन्,’ उनले भने, ‘व्यापार त केही छैन, सुकिसक्यो । होटेलको भाडा तिर्नै गाह्रो छ ।’ तानसेनको विशाल बजारमा होटेल व्यवसाय गरिरहेका विएम भण्डारका सञ्चालक कुशल जिसीको दुखेसो पनि उस्तै छ । ‘व्यापार घटेपछि घर भाडा तिर्न मुस्किल परेको छ, उनले भने ‘दैनिक खाना खाने २० ग्राहक थिए, अहिले ४ जना छन् । तानसेनमा यस्तो सुनसान होला भन्ने सोचेकै थिएन ।’
कुंवर र जिसी त केही प्रतिनिधि पात्र मात्रै हुन् । होटल व्यवसायी मात्र होइन सटर भाडामा लिएर व्यापार गर्दै आएका अन्य व्यापारीहरुको अवस्था पनि अहिले यस्तै छ । सरकारी पुनर्संरचनाले संघीयताको कार्यान्वयन भएपछि अहिले नै स्थानीय तह बलियो होलान् र सदरमुकाम सुनसान होला भन्ने यहाँका व्यापारीले सोचेकै थिएनन् । तर उनीहरुले सोंचे भन्दा फरक भईदियो । विस्तारै सदरमुकाम सुनसान हुन थाल्यो । विकट गाउँहरू जहाँ स्थानीय तहका केन्द्र कायम भए, ती स्थान चहलपहल हुन थाले । जिल्लाको शैक्षिक अवस्था खस्कदै जानु र स्थानीय तह कार्यान्वयनसंगै सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि सदरमुकामको व्यापार व्यवसायी खस्दै गएको छ ।
पूर्वाधार विस्तारसँगै लगानी र आम्दानीको आकर्षण बनेको जिल्ला सदरमुकाम सुनसान बन्दै गएको छ, भने जिल्लाका गाउँहरु भरिन थालेका छन् । ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम तानसेन बजारमा चहलपहल घट्दै गएको हो । व्यवसायीले दैनिक गर्ने कारोवारको ८० प्रतिशत कारोबार घटेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम तानसेन बजार सुनसान जस्तै देखिएको छ । सिंहदरबारको अधिकार गाउँ–गाउँमा आएसँगै गाउँको विकासमा विस्तार भएको छ । ५० बोरा सिमेन्टको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको माथागढी गाउँपालिकाका प्रवक्ता तथा –४ का वडाअध्यक्ष मधु पराजुली बताउँछन् । उनी भन्छन् ‘अब स्थानीय तहै बलियो भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ, भने सबै स्थानीय तहमा चहलपहल Þवात्तै बढेको छ ।’
‘सबै सरकारी कामहरु स्थानीयस्तरमै हुन थालेपछि व्यापार खस्किएको छ,’ तानसेनका किराना व्यवसायी शिशिर भट्टराईले भने, ‘अब व्यापार गाउँमा हुने भनेर कोही बाहिर गए, केही स्थानीयले नै व्यवसाय थाले । गाउँमै बजारमा पाईने सेवा सुविधा हुन थालेपछि बजार आउने घटेकै छन् ।’ सरकारी कामले सदरमुकाम झर्नेहरूबाटै चल्ने गरेको बजारमा क्रमिक असर पर्दै गएको उनले बताए । अहिले गाउँबाट सिफारिसका लागि सदरमुकाम आउनुपर्ने बाध्यता घटेको छ । यातयातको सुविधा र गाउँमा बजार बिस्तार हुँदै गएपछि सामान किनमेल गर्न समेत सदरमुकाम नै आउनु पर्दैन्, जसका कारण सदरमुकाममा सञ्चालित अन्य व्यापारीसंगै धेरै लगानी गरेर बनाएका होटेल व्यावसायीहरु पनि चिन्तामा छन् । स्थानीय तहमा सरकारी कार्यालय जानु र बजार व्यवस्थापनमा कसैले चासो नदेखाउँदा कतिपय व्यवसायी बुटवल,काठमाण्डौँ र पोखरातर्फ बसाई सर्ने क्रम सुरु भएको छ ।
चाडपर्वमा मात्र होइन अघिपछिको समय पनि तानसेनको बजारमा निकै चहलपहल हुन्थ्यो । त्यस्तो भिड क्रमिक रूपमा घटेको छ । कुनै बेला तानसेनका होटल, किराना, फेन्सी, इलेक्ट्रिक पसल, स्टेसनरी, तरकारी र चिया पसलहरुमा देखिने भिड अहिले छैन । यी सबै व्यवसाय अहिले संकटमा परेका छन् । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस, समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ । पहिले भनसुन गरेर जिविसमा आउन चाहने कर्मचारीको दौडधुप पनि अहिले देखिदैन । जिल्ला प्रशासन कार्यालय भएकै कारण नागरिकता र राहादानी बनाउनका लागि आउने मात्रै तानसेन बजारमा देखिन्छन् ।