Shittalpati
गुल्मी मदानेका महिलालाई बाख्रा उपहार

गुल्मी, जिल्लाको मदाने गाउँपालिका –३ सिर्सेनीका महिलालाई बाख्रा उपहार दिइएको छ । गाउँका महिलाहरुलाई पशुपालनमा व्यवासायिक बनाइ सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले यहाँका महिलाहरुलाई बाख्रा उपहार दिइएको हो ।

मदाने गाउँपालिका,हेफर प्रोजेक्ट नेपाल र सामाजिक जागरण तथा विकास अभियान (साडेक) नेपालसँगको साझेदारीमा बाख्रा उपहार दिइएको छ । गाउँपालिकामा सञ्चालित सामुदायिक विकासका लागि बाख्रा उद्यम परीयोजना अन्र्तगत यहाँका महिलाहरुलाई बाख्रा उपहार दिइएको साडेकका लेखापाल बसन्त खत्रीले जानकारी दिए । उनका अनुसार यहाँ गठित समूहमार्फत महिलाहरुलाई बाख्रा दिइएको हो । सिर्सेनीमा ६ वटा मुल समुह गठन गरिएको छ । जसमध्ये लालीगुरास स्वावलम्वन समुह र राक्से स्वावलम्वन समुहमार्फत उपहार समूह शिवालय स्वावलम्वन समुहलाई १२ वटा बाख्रा दिइएको खत्रीले बताए ।

बाख्रा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले गाउँका महिलाहरुलाई आत्मनिर्भरसँगै सक्षम बनाउन सरकारी–गैरसरकारी संघसंथाहरुको साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको बताए । उनले महिलाहरुलाई व्यवसायिक रुपमा बाख्रा पालनमा लाग्न थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मदानेलाई बाख्रा जोनका रुपमा वितार गर्न योजना अनुसार स्थानीय सरकारलागेको र त्यसका लागि विज्ञहरुको टोलीले अध्ययन समेत गरेको अध्यक्ष केसीले बताए ।

बाख्रा वितरण कार्यकममा वडा नं ३ का वडा अध्यक्ष नारयण घर्ती, २ का माधव भुसाल ,४ का भिम प्रसाद भट्टाराई र ७ का काशिबहादुर बोहोरा र पशु प्राविधिक बसन्त भुसालको उपस्थिति रहेको थियो । बाख्रा पाएपछि यहाँका महिलाहरु उत्साहित भएका छन् । उनीहरुले बाख्राबाट आफुहरुलाई आत्मनिर्भर दिशामा अगाडि बढाउने बताएका छन् ।

बाख्रा पाएका महिलाहरुले उक्त बाख्राबाट पाठी उत्पादन गरी अर्को दोसो व्यक्तिलाई दिइनुपर्ने परियोजनाको नियम रहेको साडेक नेपालका फोकल पर्सन विष्णु प्रसाद भण्डारीले बताए । परियोजना अन्र्तगत यहाँ गठित ६ वटा मुल समुहलाई २ सय ८० वटा बाख्रा साडेक नेपालबाट गत वर्ष पनि दिइएको थियो । ति बाख्र्राबाट उत्पादन भएका पाठीहरु क्रमश मुल समुहका दिदीबहिनीहरुले उपहार समुहका अन्य दिदी बहिनीहरुलाई दिदै आएका छन् ।

यो परीयोजना सिर्सेनीमा मात्र सिमित नरही बाझकटेरी,म्यालपोखरी, भनभने लगायतका ठाउँहरुमा समेत सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ । यहाँ १ हजार १ सय २० वटा बाख्रा वितरण गर्ने परीयोजनाको लक्ष्य रहेता पनि १ हजार २ सय २ वटा बाख्रा तथा ८० वटा विउँ बोका मुल समुहलाई साडेक नेपालले गत वर्ष नै दिइएको थियो । परियोजनाले बाख्रा वितरण मात्र नभई महिलाहरुलाई हेफर आधारशिला,उचित पशु व्यवस्थापन,समुह व्यवस्थापन र शहकारी व्यवस्थापन तालिम दिई उनीहरुको क्षमता अभिवृद्विमा समेत महत्वपूर्ण योगदान दिदै आएको छ । घाँसको अभावमा बाख्रा पालन गर्न असहज नहोस् भन्ने उद्देश्यले राई खन्यु,किम्वु,निमारो,मलाटो, सुपरनेपियर,मेन्दोला,ईन्दु र भटमासे लगायतका घाँसका विउँ तथा विरुवाहरु समेत परियोजनामार्फत निःशुल्क प्रदान गरिएको छ ।

परियोजनाले व्यवसायिक रुपमा लागेका महिलाहरुलाई तरकारीका विउँहरु, बाख्रा तथा लोकल कुखुरालाई नाम्ले र जुकाको औषधी समेत उपलव्ध गराउदै आएको छ । बोका तथा खसीहरुको ठाडो मुल्य निर्धारण गरी खरीद विक्रि गर्दा कृषकहरु प्रत्यक्ष घाटामा पर्ने र विचौलियाँहरुले फाईदा कमाउने परम्परालाई अन्त्य गर्न र ज्युदै तौलेर बेच्ने प्रणाली विकास गर्न परीयोजना लागु भएका ४ वटै वार्डमा १/१ वटा बाख्रा तथा बोका तौलने मेसीन प्रदान गरिएको छ । डिसेम्वर २०१९ देखी सुरु भई जुन २०२२ मा अन्य हुने उक्त परीयोजनामा ७५ प्रतिशत गाउँपालिका र २५ प्रतिशत हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग रहेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update