पाल्पा । पाल्पा–पोखराको पर्यटन प्रवद्र्धनका लागि लेकसाइटमा डिजिटल बोर्ड राखिएको छ । पाल्पाली समाज पोखराले दुई जिल्लाको पर्यटन प्रवद्र्धनका गर्न पोखरा महानगरपालिका ६ बाराहीचोकमा डिजिटल बोर्ड राखेको हो । बोर्डको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी र तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले संयुक्त रूपमा शुभारम्भ गरेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख जिसीले पोखरालाई पर्यटकीय महानगरपालिका घोषणा गर्ने तयारीमा लागेको बताए । सिद्धार्थ राजमार्ग स्तरोन्नति गरेर पोखरा आएका पर्यटकलाई श्रीनगर जाने वातावरण बनाउन सकिनेमा उनले जोड दिए । तानसेन नगरपालिकाका प्रमुख शाहीले पोखराको पर्यटन विकासका अनुभवलाई पाल्पा र तानसेनले उपयोग गर्न चाहेको बताए । डिजिटल बोर्डले पाल्पाको पर्यटन मात्र होइन, अन्य आर्थिक विकासका सम्भावना उजागर गर्न मद्दत गर्ने नगरप्रमुख शाहीको भनाई छ । उनले सिद्धार्थ राजमार्गलाई सुनौली पोखरा क्षेत्रका १५ स्थानीय तहले सिद्धार्थ करिडोरको रूपमा विकास गर्न चाहेको बताए । गण्डकी प्रदेश सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले दुई अन्तर्राष्ट्रिय विमानस्थलको बीचमा रहेको पाल्पाले पर्यटनबाट धेरै लाभ लिनसक्ने विश्वास व्यक्त गरे । पूर्व उद्योगमन्त्री हरिप्रसाद पाण्डेयले डिजिटल बोर्डमा पोखरादेखि लुम्बिनीसम्मका विभिन्न स्थानका दृष्य राख्नाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पाल्पाको पर्यटन प्रवद्र्धनमा पोखरामा बस्ने पाल्पालीहरूको प्रयास प्रशंसनीय रहेको बताए । पाल्पाली समाज समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले डिजिटल बोर्ड सार्वजनिक खरिद ऐन अन्तर्गत १८ लाख ४२ हजार रूपैयाँमा खरिद गरिएको र तयारी खर्चसमेत गरी २२ लाख खर्च भएको जानकारी दिए ।
बोर्ड निर्माणका लागि तानसेन नगरपालिकाको कूल लागतको २५ प्रतिशत, पाल्पा उद्योग वाणिज्य संघले १ लाख, पाल्पा व्यापार संघले १ लाख रूपैयाँ सहयोग प्रदान गरेका छन् । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका अध्यक्ष चिरिञ्जीवी पोखरेल, पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, पोखरा पर्यटन परिषदका संयोजक चिरिञ्जीवी पोखरेल लगायतले पाल्पाली समाजको रचनात्मक कार्य गरेकोमा समाजको प्रशंसा गरे । समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षता, सचिव केशव नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।