इमान सिं राना
पाल्पा(रामपुर) । २०५७ साल असार १३ मा पहिलो पटक विद्युत लाईन आईपुगेको जिल्लाको रामपुर नगरपालिकाका सबै टोलहरुमा बल्ल अहिले विद्युत सेवाको पहुँच पुगेको छ । विद्युत लाईनले जोडिन बाँकी वडाहरु १, २ र ३ का टोलहरुमा लाईन विस्तार भए संगै नगरका टोलहरु विद्युत पहुँचमा पुगेका हुन् । वडा १, २ र ३ का विद्युत प्रसारण लाईनसँग जोडिन बाँकी झण्डै ७ सय ४४ घर परिवारको पहुँचमा शुक्रबारदेखि विद्युत लाईन पुगेको छ । रामपुर नगरपालिकाले बुटवल पावर कम्पनीसँग सहकार्य गरी बस्ती रहेको टोलहरुमा विद्युत विस्तार गरेको हो । गाँडाकोट विद्युत विस्तार उपभोक्ता समिति मार्फत बाँकी टोलहरुमा नगरपालिकाले लाईन विस्तार गरेको थियो ।
रामपुर नगरपालिका १ को वडा कार्यालय पुगेर रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वीच थिचेर विद्युत विस्तारको शुभारम्भ गरेका थिए । शुभारम्भ सँगै उनले नगरका सबै टोल विद्युत सेवाको पहुँचमा पुगेको घोषणा गरेका थिए । थापाले उज्यालोले उत्साहसंगै उर्जा थप गर्न सहयोग गर्ने बताए । उनले भने, ‘नगरबासी विद्युतको प्रकाशबाट बञ्चित नहोस् भनेर नगरपालिकाले हाम्रो रामपुर, उज्यालो रामपुर अभियानलाई प्रथामिकता दिएको थियो । जुन अभियानले आज सार्थक रुप प्राप्त गरेको छ ।’ उनले कहीँ कतै टोल बस्ती भन्दा पर रहेका स्थानीयहरुलाई मध्यनजर गर्दै नगरले आवश्यक सोलारको व्यवस्था गर्ने बताउँदै नगरलाई उज्यालो नगरको रुपमा घोषणा गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले विद्युत सेवाले स्थानीयको दैनिकिमा ठूलो सहयोग पुग्ने बताए । साथै उनले विद्युत चुनौतीको विषय पनि भएको बताउँदै सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे ।
रामपुर नगरपालिका विशेष समन्वय समितिका सदस्य एवं तत्कालिन बेझाँड विद्युत ग्राहक संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठ २०५७ सालमा अन्यत्र विद्युत नहुँदा समेत गल्याङ्गदेखि रामपुरसम्म विद्युत ल्याएको दिनको स्मरण गरे । उनले तत्कालिन समयमा साविक रामपुर ४ र ५ मा विद्युत विस्तार गरिएको अहिले आएर नगरका सबै टोलमा विद्युत पुग्नु सुखद् कुरा भएको बताए । साथै श्रेष्ठले स्थानीय सरकार आएसंगै गाउँ–गाउँमा विकासको लहर छाएको बताए । उद्घाटन कार्यक्रममा रामपुर नगरपालिका १ का वडा अध्यक्ष मित्रलाल कंडेल, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, गाँडाकोट विद्युत विस्तार उपभोक्ता समिति रामपुरका सदस्य दान बहादुर मल्ल, ३ नम्बर ट्रान्समिटरका अध्यक्ष ठग बहादुर बंशी, २ नम्बर ट्रान्समिटरका अध्यक्ष यम बहादुर थापा, १ नम्बर ट्रान्समिटरका अध्यक्ष सन्तोष अधिकारी लगाएतले आ–आफ्नो भनाई राखेका थिए । टोलमा पहिलो पटक विजुली आए संगै विद्युतीय उपकरणहरु सञ्चालन गर्न तथा कम खर्चमा काम गर्न सहज हुने भएपछि स्थानीयहरु खुशी भएका छन् । रामपुर १ खटाङका विमला थापाले भनिन्, ‘मोबाईल चार्ज गर्न अन्यत्र जानु पथ्र्यो । फर्निचर तथा मिलहरु सञ्चालन हुन सकेको थिएन । अब त धेरै सहज हुने भयो ।’ शंकर आधारभूत विद्यालय रामपुर १ फुर्केचौरका शिक्षक मिन बहादुर खाँणले विद्यालयमा विद्युत नहुँदा कम्प्युटर शिक्षा प्रदान गर्न नसकिएको तितो यथार्थ सुनाउँदै अब सूचना प्रविधि मार्फत शिक्षा दिन सकिने बताए । गाँडाकोट विद्युत विस्तार उपभोक्ता समिति रामपुरका अध्यक्ष केशव थापाले १, २ र ३ वडाका बाँकी ७ सय ४४ घरमा ३ करोड ४३ लाख ५८ हजार ३ सय ९३ रुपैयाँ ४७ पैसाको लागतमा लाईन विस्ता गरिएको बताए । जस मध्ये रामपुर नगरपालिकाको १ करोड ५४ लाख ९९ हजार ३ सय ३१ रुपैयाँ १० पैसा, बुटवल पावर कम्पनीको १ करोड ७९ लाख ४९ हजार ३ सय १२ रुपैयाँ ३७ पैसा र स्थानयिको ९ लाख ९ हजार ७ सय ५० को लागतमा विद्युत विस्तार भएको हो ।
बुटवल पावर कम्पनी शाखा कार्यालय रामपुरका प्रमुख भिम बहादुर सोमैले वडा १, २ का केही र ३ को अधिकांश भागमा पहिले नै लाईन विस्तार भैसकेको बताए । शुक्रबारबाट बाँकी भागमा लाईन छोडिएको उनले जानकारी दिए । प्रमुख सोमैले रामपुर नगरपालिकाको वडा ९ र ८ का केही भागमा सामुदायिक विद्युतिकरण भएको उल्लेख गर्दै अन्य सबै वडामा बुटवल पावर कम्पनी मार्फत सेवा प्रदान गरिएको बताए । गाँडाकोट विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रमेश खत्रीको स्वागत र सचिव सन्तोष थापाको सञ्चालनमा भएको थियो ।